
नेपाली कलाकारिता क्षेत्रमा नवप्रतिभा हुन्, दमक–१० की सृजना निङ्लेखु ।
उनले प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘अग्नी’ मा नायिकाका रुपमा अभिनय गरेकी छिन् । यसबाहेक उनले सानो पर्दाका अन्य तीन वटा चलचित्रहरूमा अभियन गरिसकेकी छन् । चलचित्रसँगै यतिखेर विभिन्न गीतहरूको म्युजिक भिडियोमा काम गर्ने अवसर पाएकी छिन् । अभिनयमा रुचि राख्ने उनी कलाकारितामा नै आफनो भविष्य ठानेकी छन् ।
स्थानीय पाथिभरा एफएममा आरजे केही समय अघि मात्र छाडेकी सृजना व्यवसायिक कलाकारितामा स्थापित हुन अभ्यासरत छिन् । रेडियो कार्यक्रमका कुशल आरजे उनी दुवै क्षेत्रमा सँगसँगै आफनो क्यारियर बढाउने बताउँछिन् । कलाकारितामा भविष्य देख्ने उनी भन्छन् –‘यो क्षेत्रमा आफूलाई स्थापित गर्न लागेकी छु ।’ नायिकाको तुलनामा आफनो जीउडाल, रुपरङ, पर्सानालिटीले साथ दिएको सृजनाको भनाई छ । यससँगै उनले मोडलिङ क्षेत्रमा पनि काम गर्ने योजना बनाएकी छिन् । ‘एकै क्षेत्रमा एकैसाथ लाग्ने सोच बनाएकी छु’ आफना भावी योजना सुनाउँदै सृजनाले भनिन् ।
प्रस्तुत छ –उनै सृजनासँग कलाकारिताका क्षेत्रमा गरिएको कुराकानी :
किन कलाकारितामा आकर्षित हुनुभयो ?
कलाकार हुन सानैदेखिको मेरो शौख पनि थियो । कसरी सबै मानिसले मलाई चिनून् भन्ने भावना मनमा खेल्थ्यो । यसले पनि मलाई यो क्षेत्र रहर बन्न पुग्यो । अब त केही गर्न सक्छु भन्ने विश्वास आउन थाल्यो । एउटा कलाकारमा हुनुपर्ने केही गुणहरू मसँग पनि छ भन्ने आत्मविश्वास, दृढ संकल्पले गर्दा मैले केही गर्ने मौका पाएकी छु ।
कलाकारितामा के छ भनेर लाग्नुभयो ?
मैले अघि नै भनेकी थिए नि, कलाकारिता समग्र रुपमा भन्ने हो भने इज्जत र प्रतिष्ठासँगै राम्रो गर्न सकिए प्रशस्त सम्भावना बन्दै गएको छ । यो क्षेत्र नामसँगै दाम आर्जन गर्न सकिने बलियो क्षेत्रको रुपमा स्थापित हुँदै गएको छ । यी सबै कारणले पनि मैले क्रमशः यो क्षेत्रमा प्रवेश गर्ने जमर्काे गरेकी छु ।
राम्रा कलाकार बन्न के गुण हुनुपर्छ भन्ने लाग्छ यहाँलाई ?
मुख्यतयाः कलाकारमा एउटा सबल पक्ष भनेको नै अभिनय हो । कुनै कथालाई जस्ताको त्यस्तै गरि अभिनयमा डालेर चित्रण गरिनु पर्ने कारणले पनि यस्तो क्षमता निहित हुनुपर्छ भन्ने लाग्छ । समाज र संस्कृति अनुसार उसका क्रियाकलापहरू चल्न सके मात्र यसमा भविष्य बन्ला की भन्ने ठानेकी छु ।
कलाकारितामा बढी उत्ताउलोपन आयो भन्ने गुनासो पनि उठ्छन् नि ?
निश्चय पनि यो क्षेत्र शतप्रतिशत राम्रै छन् भन्ने पक्षमा म छुइनँ । यहाँ प्रशस्त विकृति हुँदै आएका छन् । पुरुषभन्दा महिला कलाकार बढी अनेकौँ समस्या झेलिनुपरेको सर्वविदितै छ । हाम्रो समाजको बनावटका कारण यो सिङ्गो क्षेत्र प्रभावित छन् भन्ने मेरो बुझाई हो । मैले यहाँ के भन्न खोजेकी हँु भने विकृति छन् तर एउटा कलाकारले क्षणिक स्वार्थका कारण आफना क्यारियर साट्नु हुदैन् ।
तपाईले पनि त्यस्तो अप्ठ्यारो स्थिति सहनु प¥यो त ?
छैन–छैन । मलाई के लाग्छ भने आफ्नै कारणले नै मानिसहरू बिग्रँदै आएका छन् नि ? हेर्नुस् त कलाकारिता क्षेत्र एउटा उदाहरण बन्न सक्ला तर अन्य हरेक क्षेत्रमा पनि यी खाले समस्या छँदै छैनन् भन्न सकिने अवस्था छैन । मलाई के लाग्छ भने आफू सक्षम भए, पक्कै पनि यस्तो समस्या आउने सम्भावना कम हुन्छ ।
अनि अहिले केमा व्यस्त हुनुहुन्छ ?
अहिले केही म्युजिक भिडियोहरूमा खेल्दै आएकी छु । दुई तीन वर्षको मेरो कलाकारिताको दौडान जे होस्, मैले निकै उपलब्धीपूर्ण ठानेकी छु । यो अवधिमा मैले आफूलाई आवश्यक पर्ने आधारभूत पक्षहरूमा कसरी खारिन सकिन्छ भन्ने अभ्यासमा केन्द्रीत रहेकी छु । यसका लागि नृत्य तथा अभिनयको तालिम लिँदै आएकी छु । समयलाई व्यवस्थापन गरेर दैनिक कार्यतालिकामा मैले आफूलाई रुपान्तरित गरेकी छु ।
ठूलो पर्दाको चलचित्र अग्नीमा तपाईको कस्तो भूमिका छ ?
यसमा मैले बिल्कुल नौलो भूमिकाको रोल गरेकी छु । विशेषत सामाजिक भूमिकामा मैले आफ्नो भूमिकालाई उतारेकी छु । मेरो त्यहाँ एउटा एक्सन खालको रोल छ । लाग्छ,मलाई सुहाउँदो नै त्यो रोल हो ।
अब यो क्षेत्र नै रोज्ने लक्ष्यमा हुनुहुन्छ हो ?
सकेसम्म मैले अब कलाकारितालाई नै मेरो क्यारियर बनाउने सोच बनाएकी छु । अहिले यति मात्र भनौ, नेपाली कलाकारिताको क्षेत्रमा एउटी सफल कलाकार हो भनेर चिनाउन र म आफैलाई पनि त्यस्तो क्षमता विकास गराउन केन्द्रीत छु । सकेसम्म यसैमा मेहनेत गरेर भएपनि जम्ने लक्ष्य लिएकी छु ।
प्रस्तुति : विष्णु सुब्बा/दमक

















प्रतिक्रिया