काठमाडौँ, ४ असार । जमीनबाट ८० देखि एक सय किलोमिटर तलसम्मको पृथ्वीको माथिल्लो भाग धेरै टुक्रामा विभाजित छ। प्राविधिकहरू यी टुक्रालाई ‘टेक्टोनिक प्लेट’भन्छन्। यस्ता प्लेटहरू समुद्रमा डुंगा तैरिरहेजस्तो एस्थेनोस्फेएर मा तैरिएर निश्चित दिशामा हिँडिरहेका छन्। यसरी हिँड्ने क्रममा यस्ता प्लेटहरू कहीँ एक अर्काबाट टाढा जान्छन् भने कहीँ नजीक आएर ठोक्किन्छन्। यसरी प्लेटहरू ठोकिँदा, एक प्लेट अर्कोका मुनि घुस्दा वा घोटिने क्षेत्रमा दबाब सिर्जना हुँदा शक्ति सञ्चय हुँदै जान्छ। केही समयसम्म यस्तो शक्ति सञ्चित भएर रहन्छ, तर जब यस्तो शक्ति उक्त क्षेत्रमा रहेको चट्टानले थाम्ने क्षमताभन्दा बढी हुन्छ, तब पृथ्वीको माथिल्लो तहमा रहेका चट्टानसमेत फोरेर भएभरको ऊर्जा एकैचोटि बाहिर निस्कन्छ। यसरी सयौँ वर्षदेखि सञ्चित ऊर्जा एक्कासि निस्कँदा भूकम्प जान्छ।
टेक्टोनिक प्लेटहरूको सिमाना जहाँ जहाँ पर्छ ती क्षेत्रमा भूकम्प जाने गर्छ। यस्ता सिमानाहरूमा प्लेटहरू एकआपसमा ठोकिने, एक प्लेट अर्कोमा घोटिएर तेर्सो गरी चिप्लिने, दुई प्लेट टाढा जाने र एक प्लेट अर्कोमुनि घुस्ने क्षेत्र पर्दछन्। जसमा नेपाल पनि एक हो जुन इन्डियन प्लेटको माथि रहेको छ। त्यसैले यहाँ नियमितजसो कहीँ न कहीँ थाहै नपाइने, साना र ठूलामध्ये कुनै न कुनै प्रकारका भूकम्प गइरहन्छन्। करिब पाँच करोड वर्ष पहिले दक्षिणतर्फबाट आइरहेको इन्डियन प्लेट उत्तरमा रहेको युरेसिएन प्लेटसँग ठोक्किन पुगेको विश्वास प्राविधिकहरूको छ। उक्त ठोक्काइपछि पनि इन्डियन प्लेट उत्तरतर्फ सर्ने क्रम रोकिएको छैन। इन्डियन प्लेट उत्तरतर्फ सर्ने क्रम तिब्बत र नेपालबीचमा भने प्रतिवर्ष एक इन्चका दरले चालू छ।
नेपालमा भूकम्प जानुका कारण
नेपालमा भूकम्प जानुका प्रमुख कारण भारतीय भू-खण्डको उत्तरतिर भइरहेको विस्थापन हो। भारतीय भू-खण्ड प्रत्येक वर्ष करिब ४ सेन्टिमिटरका दरले उत्तरतर्फ हिँडिराखेको छ र करिब २ सेन्टिमिटरका दरले हिमालय क्षेत्रमा दबाब सञ्चित भइरहेको छ। यसरी सञ्चित भएको दबाब चट्टानले थेग्न सक्नेभन्दा बढी भएमा भौगर्भिक दरारहरूमा अकस्मात विस्थापन हुन्छ र भूकम्पका तरंगहरूको चारैतिर प्रसारण हुन थाल्छ। भूकम्पले सधैं र सबै स्थानमा एकैकिसिमको क्षति हुँदैन र यो धेरै कुरामा भर पर्छ। काठमाडौँदेखि पूर्वको क्षेत्रमा गएका ठूला भूकम्पमा विसं १९९०को महाभूकम्प (८.२ रेक्टर), विसं २०४५को उदयपुर केन्द्रविन्दु रहेको भूकम्प (६.५ रेक्टर) हुन् भने त्यसपछिका भूकम्पमा असोज एक गते आइतबार गएको भूकम्प (६.९ रेक्टर) पर्छ। यसबाहेक साना भूकम्पहरू दिनहुँ गइराखेका हुन्छन्। असोज एक गते गएको भूकम्प विसं २०४५मा गएको भूकम्पभन्दा ठूलो हो, तर पनि यसले ०४५ सालको जस्तो ठूलो क्षति पुर्याएको पाइएन जो एक चासोको विषय भएको छ। १९९० सालमा गएको महाभूकम्पबाट नेपालमा मात्र सात हजारभन्दा बढीले ज्यान गुमाएका थिए। त्यसैगरी २०४५ सालमा गएको भूकम्पबाट सात सयभन्दा बढी मानिसको ज्यान गएको थियो भने २०६७ साल असोज १को भूकम्पबाट हालसम्म नेपालमा ८ जना र भारतमा ५० भन्दा बढीको ज्यान गएको थियो ।
















प्रतिक्रिया