रत्ननगर (चितवन), ४ असार । चितवनमा भुकम्पबाट ३६ खानेपानी आयोजनामा क्षति पुगेको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार ती आयोजनामा रु तीन करोड ६३ लाख ५० हजार बराबरको क्षति पुगेको छ । जिल्ला विपद् समितिमा कार्यालयले पेस गरेको अन्तिम विवरणमा प्रतिआयोजना कम्तीमा रु दुई लाख ५० हजारदेखि रु ३० लाखसम्म क्षति पुगेको उल्लेख छ ।
अधिकांश खानेपानी आयोजनाको ट्याङ्की र इन्टेकमा क्षति पुगेको छ । माडी नगरपालिकाका, दारेचोक गाविस र खैरहनी नगरपालिकाका चार÷चार, रत्ननगरका तीन वटा आयोजनामा बढी क्षति भएको समितिका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिनुभयो । कतिपय स्थानमा पाइपमा नै क्षति गरेको र कतिपयमा भने धारामा क्षति पुगेको छ । केही आयोजनाको मुहानमा नै क्षति पुगेको छ ।
सबैभन्दा बढी पदमपुर खानेपानी आयोजनामा रु ३० लाख क्षति भएको समितिले आज जनाएको छ । यस्तै सिद्धी खानेपानी आयोजनामा गरी रु ३५ लाख, रत्ननगर खानेपानी आयोजनामा रु २५ लाख, पिठ्वा र छरछरे खानेपानीमा रु २०/२० लाख तथा जगतपुर र समिटार खानेपानी आयोजनामा रु १५/१५ लाख क्षति भएको छ । क्षतिको विवरण केन्द्रमा पठाइएको र मर्मतका लागि समेत मागपत्र पेस गरिएको कार्यालयले जनाएको छ । रासस
















प्रतिक्रिया