३० आश्विन २०८३, शुक्रबार

पश्चिम तराईमा वर्षापछि रोपाइँ सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhan ropaiधनगढी, ४ असार । बुधबार र बिहीबार भएको वर्षापछि कैलाली जिल्लाका किसानलाई धान रोपाइँको चटारो भएको छ ।

लामो समयदेखिको सुक्खा मौसमसहितको प्रचण्ड गर्मीका कारण धानको ब्याड खेतमै सुक्न थालेपछि चिन्तित बनेका स्थानीय किसान वर्षासँगै रोपाइँका लागि चाहिने पानी खेतमा जमेपछि खुसी देखिएका छन् ।

प्रचण्ड गर्मीले ब्याड खेतमै सुक्न थालेको अवस्थामा वर्षाले ठूलो राहत भएको साविक गेटा गाविसका कृषक कमल भण्डारीले बताउनुभयो । तातेको जमिनमा वर्षाको पानी धेरै नरहने भएकाले सबै खेतमा रोपाइँ गर्न निरन्तर वर्षा अझै आवश्यक रहेको भण्डारी बताउनुहुन्छ ।

जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत खेमराज जोशीले जिल्लाका केही ठाउँमा बोरिङको पानीका साथै कुलोको पानी लाग्ने ठाउँमा केही दिनअघिबाट नै रोपाइँ सुरु भएकामा वर्षासँगै आम किसानलाई रोपाइँ गर्न सहज भएको बताउनुभयो ।

कैलालीमा रोपाइँ हुने क्षेत्रफलको जग्गामध्ये अधिकांश क्षेत्रफलको जग्गामा आकाशको पानीको भरमा रोपाइँ हुने गरेको छ । सीमित जग्गामा मात्रै बोरिङको पानी र सतह सिँचाइमार्फत रोपाइँ हुने गरेको छ । जिल्लाको पूर्वी क्षेत्रको तुलनामा पश्चिमी क्षेत्रमा सिँचाइको सुविधा कम रहेको छ ।

जिल्लामा झन्डै ७५ हजार हेक्टर क्षेत्रफलको जग्गामा धानखेती हुने गरेको छ । वर्षासँगै तापक्रम घटेर चिसो भएपछि स्थानीयवासीले राहतसमेत महसुस गरेका छन् । रासस