१९ असार २०८३, शुक्रबार

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक : आज प्रतिवेदनमाथि समूहगत छलफल

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज आइतबार पनि जारी रहनेछ ।

शनिबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु भएको बैठकमा पेश भएका प्रतिवेदनमाथि समूहगत छलफल हुने एमालेले जनाएको छ ।

प्रतिवेदनलाई आजै पारित गरेर बैठक समापन गरिने तयारी रहेको बताइएको छ ।

शनिबार परिषद्को बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनले पार्टी जीवनको लोकतान्त्रिकरणका साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आंकाक्षा पूरा गरी समाजवादमा पुग्न आगामी निर्वाचनमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग सुझाव मागेको थियो ।

बैठकमा एमालेको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गरेको छ ।

बैठकमा २ हजार ४ सय ५४ जना सहभागी छन् ।

एमालेले भोलि सोमबार नेकपा स्थापनाको ७५औँ वर्षका अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरूलगायत शीर्ष नेताहरुलाई आमन्त्रण गरिएको एमालेले जनाएको छ ।