काठमाडौं । रातारात क्यासिनोबाट करोडपति भएकाहरुको पछिल्लो समय बिचल्ली भएको छ । क्यासिनो सञ्चालनमा सरकारले कडा प्रावधानसहितको नियमावली ल्याएपछि क्यासिनोहरु बन्द भएका छन् ।
चोरबाटोबाट अदालतमा सेटिङ मिलाएर सञ्चालन हुँदै आएका क्यासिनोहरु समेत बन्द भएको यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।
अदालतबाट आदेश गराएर खुलेका अन्ना र रोयल क्यासिनो गत सातादेखि पुन: बन्द भएका छन् । अन्ना क्यासिनोले अन्नपूर्ण होटललाई १७ करोड रुपैयाँ भाडा नदिएपछि होटल व्यवस्थापनले बन्द गराएको हो ।
सो क्यासिनोका सञ्चालकद्धय तप्तबहादुर बिष्ट र कल्पदीप राईले लामो समयदेखि गुण्डागर्दी गरेर होटललाई भाडा नतिरी क्यासिनो सञ्चालन गर्दै आएका थिए ।
शक्ति केन्द्रको आडमा विष्टले सरकारलाई बुझाउनु पर्ने ११ करोड रुपैयाँ राजश्व समेत तिरेका छैनन् । कुनै समय दरबारमार्गका एक प्रहरी निरीक्षकले क्यासिनोमा नेपालीलाई प्रवेश गराएको भन्दै विष्टलाई पक्राउ गर्दा उनले सञ्चारमाध्यमलाई दुरुपयोग गरी निरीक्षकलाई नै हटाउन सफल भएका थिए ।
अन्नपूर्ण होटलले सिडिओ कार्यालय र प्रहरीमा उजुरी दिई क्यासिनोलाई बन्द गराएर भवन भत्काउन थालेको छ । होटललाई १७ करोड रुपैयाँ भने उनीहरुले तिरेका छैनन् ।
विष्ट उनै व्यक्ति हुन् जसले विभिन्न व्यापारीहरुबाट करोडौं रुपैयाँ लिई फिर्ता नगरी भूमिगत जस्तै भएर बसेका छन् । विष्ट र राई दुवै जना कुनै समय क्यासिनोमा सामान्य कर्मचारी थिए ।
तर पनि उनीहरु नै क्यासिनोको मालिक भए र करोडौं रुपैयाँ कमाए । अन्नपूर्ण होटललाई दिने पैसा समेत उनीहरु आफैं कुम्ल्याएको खुलेको छ । तर क्यासिनोका कतिपय कर्मचारीले भने तलब पाउन सकेका छैनन् ।
उता रोयल क्यासिनो बन्द भएपछि पूर्वराजा ज्ञानेन्द्रका ज्वाई राजबहादुर सिंह र क्यासिनो किङका नामले चिनिने बलराम सापकोटा बलेको बिजोग भएको छ ।
उनीहरुले पनि अदालतबाट आदेश लिएर क्यासिनो चलाउदै आएका थिए । सिंहले मनोज सुवेदीलाई हर्ताकर्ता बनाएर रोयल क्यासिनो चलाएकोमा सुवेदीलाई हटाएलगत्तै क्यासिनोमा सरकारले ताला लगाइदिएको छ ।
सुवेदीले नै आफ्नै नामबाट सर्वाेच्च अदालतमा रिट हालेर क्यासिनो चलाउने आदेश लिएका थिए । सिंहले उनलाई हटाएर भारतीय समूहलाई क्यासिनोमा प्रबेश गराएपछि अदालतमा आफुले दर्ता गरेको रिट फिर्ता गरेर उनले क्यासिनो बन्द गराएका हुन् ।
निश्चित जरिवाना तिरेर रिट फिर्ता लिन पाउने कानुनी प्रावधान छ । सोही आधारमा उनले रिट फिर्ता लिएर त्यसको जानकारी पर्यटन मन्त्रालयलाई दिएका थिए ।
पर्यटन विभागका कर्मचारीले गत साता क्यासिनोमा ताला लगाएरपछि राजबहादुर तनावमा छन् । राजबहादुरको नाममा रहेको गिल्ट इन्टरनेशनल नामक कम्पनीमार्फत उक्त क्यासिनो सञ्चालन हुदै आएको छ । क्यासिनोमा बलेले समेत पैसा लगानी गरेका थिए । उनी टेबुल पनि चलाउँदै आएका थिए ।
हाल सोल्टी होटलमा माजोङ र सांग्रिला होटलमा सांग्रिला क्यासिनो मात्र संचालनमा छन् । भूकम्पपछि पर्यटक आउन छाडेकाले ती क्यासिनो पनि बन्द हुने अवस्थामा पुगेका छन् ।
वर्षमा २५ करोड भन्दा धेरै सरकारलाई रोयल्टी तिर्नुपर्ने अवस्था भएको र व्यापार नभएकाले क्यासिनो संचालकहरु डुब्ने अवस्थामा पुगेका छन् ।















प्रतिक्रिया