१४ कार्तिक २०८३, शनिबार

पक्राउ परेका एन्फा उपाध्यक्षको यस्तो थियो बयान

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ बैशाख । लागु औषध –खैरो हिरोइन मुद्दामा दोषी ठहर भइ फरार सूचीमा रहनुभएका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामालाई प्रहरीले आज पक्राउ गरेको छ ।

झण्डै १७ वर्षअघि २०६१ साउन ८ गते ५ ग्राम ब्राउन सुगरसहित काठमाडौंको बालाजुबाट पक्राउ पर्नुभएका दावा त्यसको एक महिनापछि पुर्पक्षका लागि कारागार चलान हुनुभएको थियो । पछि २०६२ जेठ १० गते जिल्ला अदालतले लामालाई ६ महिना मात्र कैद सजाय गरेपछि उहाँ छुट्नुभएका थियो ।

फैसला हुँदा उहाँ झन्डै १० महिना जेल बसिसक्नुभएको थियो । तर जिल्ला सरकारी वकिल कार्यालय अदालतको उक्त फैसलाविरुद्ध उच्च अदालत पाटन पुगेको थियो । २०६४ जेठ २० गते पुनरावेदन अदालत पाटनका न्यायधीशद्धय अलि अकवर मिकरानी र जनार्दन बहादुर खड्काको इजलासले दावालाई ५ वर्ष जेल सजाय सुनाएको भएपनि उहाँ पक्राउ पर्न सक्नुभएको थिएन ।

यस्तो छ दावाले अदालतसमक्ष गरेको वयानको सारांश
म बाट लागु औषध वरामद भएको होइन । मेरो साथी नविन लामासँग वनस्थलीमा खाजा खान गएको थिएँ । निजसँग लागु औषध खैरो हेरोईनको प्याकेट रहेछ । उक्त कुरा थाहा पाई प्रहरी त्यहाँ आई निजलाई पक्राउ गरी लागु औषध वरामद गरी निजलाई कुटपिट गरेर छोड्यो र मलाई समाते । प्रहरी समक्ष गरेको बयान मेरो होइन । जबरजस्ती झुठा व्यहोरा लेखिएको कागजमा सही छाप गराएका हुन् । मलाई पढ्न समेत दिइएन । लागु औषध कारोबारमा मेरो कुनै संलग्नता नै नभएको हुँदा मलाई सजाय हुनु पर्ने होइन ।