मस्को, २ असार । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुकले पारमाणविक हतियारभण्डार विस्तार गर्न चाहेको बताउनुभएपछि क्रेमलिनका एक उच्च सहयोगीले मस्को अमेरिकासँग नयाँ महङ्गो हतियारको दौडमा प्रवेश गर्न नचाहेको बताएका छन् ।
रसियाली राष्ट्रपति पुटिनका विदेश नीतिका विषयमा उच्च सहयोगी युरी युसाकोभले एक पत्रकार सम्मेलनमा आफ्नो मुलुकले केही प्रकारको चुनौतीप्रति प्रतिक्रिया व्यक्त गर्न चाहेको बताउनुभयो ।
उहाँले आफूहरू कुनै पनि प्रकारको हतियारको होडबाजीको विरोधमा रहेको बताउँदै यसले आफ्नो आर्थिक क्षमतालाई कमजोर बनाउने बताउनुभयो ।
उहाँले आफूहरू यस्तो कार्यको सैद्धान्तिक रूपमा विरोधी भएको बताउनुभयो ।
उहाँले रसिया तथा पश्चिमी मुलुकबीच प्रत्यक्ष सैनिक द्वन्द्वका सम्भावनाका विषयमा भने कुनै पनि टिप्पणी गर्न अस्वीकार गर्नुभयो ।
मङ्गलबार रसियाली राष्ट्रपति पुटिनले आफ्नो पारमाणविक हतियारको भण्डारमा ४० वटा अन्तरमहाद्वीपीय क्षेप्यास्त्र थप्ने बताउनुभएको थियो र यसका कारण पश्चिमी मुलुकले बयान दिन थालेका छन् ।
उहाँले कसैले आफ्ना क्षेत्रमा चुनौती दिए आफूहरूले आफ्ना सशस्त्र शक्ति तथा आधुनिक प्रहारक क्षमता उक्त क्षेत्रमा लैजानुपर्ने बताउनुभएको थियो ।
उक्त भनाइको आलोचना गर्दै अमेरिकी विदेशमन्त्री जन केरीले कोही पनि शीतयुद्धमा फर्कन नचाहेको बताउनुभएको थियो ।
युक्रेनमा द्वन्द्वपछि रसिया तथा पश्चिमी मुलुक द्वन्द्वमा परेका छन् ।
अमेरिकाले पूर्वी युरोपमा नेटोका सहयोगी मुलुकमा आफ्नो हतियार तैनाथ गर्ने योजना बनाएपछि रसियाली राष्ट्रपति पुटिनले अमेरिकी नेतृत्वमा रहेको उक्त गठबन्धन आफ्नो सीमामा आइरहेको आरोप लगाउनुभएको थियो । रासस/एएफपी















प्रतिक्रिया