लागोस, २ असार । नाइजेरियाको तेलधनी दक्षिणी भागमा घरमा बनाइएको र ठूलो मात्रामा मेथनल रहेको मदिरा सेवन गर्दा करिब ७० व्यक्तिको मृत्यु भएको जानकारी वरिष्ठ स्वास्थ्य अधिकारीहरूले बुधबार दिएका छन् ।
रिभर्स राज्यका स्वास्थ्य मन्त्रालयका स्थायी सचिव सोमियारी ह्यारीले स्थानीय रूपमा ओगोगोरो नाम गरेको मदिरा सेवन गर्दा सरकारका पाँच क्षेत्रमा यस प्रकारको मृत्यु भएको बताउनुभयो ।
उहाँले ओगोगोरोको उपभोग गरी मरेका व्यक्तिको सङ्ख्या ७० पुगेको बताउनुभयो ।
ओगोगोरो पश्चिम अफ्रिकी लागुपदार्थ हो र यो स्थानीय रूपमा नाइजेरियामा लोकिप्रिय रहेको छ । यो राफिया पाम रुखको रसबाट निर्माण हुन्छ र यसलाई निकै सस्तो रूपमा बिक्री गरिन्छ ।
यस्ता रसबाट ३० देखि ६० प्रतिशतसम्म मदिरा निकाल्न सकिन्छ ।
यस प्रकारको मृत्यु यसै महिनाको आरम्भमा देखापरेको थियो । रिभर्स राज्यले यस्ता मदिराको उत्पादन, बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको छ ।
यस्तो निर्णय कार्यान्वयन गर्न स्वास्थ्यमन्त्रालयका अधिकारीहरूलाई काममा लगाइएको छ । रासस/एएफपी















प्रतिक्रिया