– रबिना बोहरा
बागलुङ, ३ असार । व्यवसायिक माछापालनद्धारा स्थानीयको जिवस्तर बढाउन जिल्ला कृषि विकास कार्यालय बागलुङले माछापालन आयोजना सञ्चालन गरिरहेको छ ।
बागलुङ जिल्लाको मध्य पहाडी क्षेत्रमा मच्छि विकास कार्यक्रम अन्तर्गत जिल्लामा ४३ वटा पोखरी बनाउन लागिएको कार्यालयले जनाएको हो ।
पोखरी दिनका लागी ४३ जना किसानहरुलाई छनौट गरिसकेको र २२ जनाले भुक्तानी लिइसकेको हुदा पोखरी पनि निर्माण भैसकेका छन् ।
व्यवसायिक माछा पालनसँगै बजारीकरण समेत सहयोग पु¥याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । जिल्लामा माछाको मागलाई पु¥याउन नसक्दा भारतबाट भएको आपुर्तिलाई पुरा गदै माछाको मागलाई पुरा गर्ने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत बिनोद हमालले बताउनुभयो ।
बागलुङ जिल्लाका विभिन्न क्षेत्रमा व्यवसायिक माछापालन सुरु भएपछि स्थानीयको जीविकोपार्जनसँगै अन्य माछापालक कृषकहरुलाई पनि बजार व्यवस्थापनमा सहज हुने लक्ष्य लिइएको छ । बागलुङ नगरपालिका, पैयुपाटा, राजकुत, बुर्तिबाङ, खर्वाङ, काँडेबास, दुदिलाभाटी, तंग्राम लगायतका गाविसमा आयोजना सञ्चालन गरिएको छ ।
गतबर्ष २ हेक्टर जमिनमा ४० वटा पोखरी निर्माण गर्ने कार्यक्रम रहेको थियो भने अहिले कृषकहरु विस्तारै माछापालन व्यवसाय प्रति आकर्षित बन्दै गएका छन् । गत बर्ष २४ जनाले ५३ वटा पोखरी निर्माण गर्दा १० हजारका दरले २ लाख रुपैया अनुदान दिएको थियो भने यस बर्ष ४ लाख ३० हजार बजेट माछापालन व्यवसायका लागी छुट्टिएको कृषि विकास कार्यालय बागलुङले जनाएको छ । बानपा, पैयुपाटा, काँडेबासलाई पकेट क्षेत्र राखेर आयोजना सञ्चालन गरिएको जिल्ला कृषि विकास कार्यालय बागलुङका कृषि प्रसार अधिकृत विप्लब अधिकारीले बताउनुभयो ।
माछापालन व्यवसायका लागि १ रोपनी जमिनमा १० हजार अनुदान दिने गरेको उहाँले बताउनुभयो । जिल्लामा ग्रास कार्प माछाका लागि सिफारिस गरिएको भन्दै ताराखोलाका कृषकहरुले रेन्बो ट्राउट माछा गत बर्षबाट व्यवसायिक रुपमा नै माछापालन सुरु गरेको उहाले जानकारी दिनुभयो ।
















प्रतिक्रिया