काठमाडौँ, २३ जेठ । दक्षिण कोरियाको इन्चोनमा हुने १७ औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गतको सुटिङमा ओलम्पियन स्नेहा राज्यलक्ष्मी राणासहित चार खेलाडी आज छनोट भएका छन् ।
नेपाल सुटिङ संघद्वारा आयोजित छनोट प्रतियोगिताको महिलातर्फ १० मिटर एयर राइफलमा स्नेहाले चार सयमा ३७९ अङ्क ल्याउँदै छनोट भएकी हुन् । उनी प्रतियोगितामा पहिलो भएकी थिइन् ।
प्रतियोगितामा ३७८ अङ्कका साथ नेपाल प्रहरीकी अस्मिता राई दोस्रो हँुदै छनोट भइन् भने ३७६ अङ्क जोड्दै ओलम्पियन पूmलमाया क्याप्छाकी तेस्रो स्थानमा रहँदै छनोट हुन् सफल भइन् । उक्त स्पर्धामा छनोट हुनुका लागि कम्तिमा ३७५ एमक्युएस ल्याउनुपर्ने थियो ।
सातदोबाटोस्थित सुटिङ रेन्जमा भएको उक्त स्पर्धामा कूल छ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
यसैगरी पुरुषतर्फ १० मिटर एयर पेस्तोलमा बाग्लुङका केभी पुन पहिलो भए । उनले ६०० पूर्णाङ्कमा ५६३ एमक्युएस ल्याउँदै उक्त प्रतियोगिताको लागि छनोट भए ।
पुरुष १० मिटर एयर राइफलमा ओलम्पियन सुनसरीका टीकाराम श्रेष्ठ पहिलो भए । श्रेष्ठ ५६४ अङ्क जोड्दै पहिलो भएका हुन् ।
यस्तै उनी उक्त प्रतियोगिताको लागि छनोट हुने या नहुने भन्ने यकिन भने भएको छैन । उक्त प्रतियोगितामा छनोट हुनको लागि कम्तिमा ५७० अङ्क ल्याउनुपर्ने थियो । उक्त स्पर्धामा १० खेलाडीले सहभागिता जनाएता पनि कुनैले आवश्यक अङ्क ल्याउन सकेका थिएनन् ।
यस्तै महिला १० मिटर एयर पेस्तोलमा ललितपुरकी रुविना श्रेष्ठ पहिलो भइन् । उनले ३६४ अङ्क जोड्दै पहिलो भएकी हुन् । रुबीना एक अङ्क कम भएको कारण उक्त प्रतियोगिताको लागि छनोट हुन सकिनन् । उक्त प्रतियोगितामा छनोट हुनको लागि न्यूनतम ४०० मा ३६५ एमक्युएस ल्याउनुपर्ने थियो ।
सो प्रतियोगिताको लागि टीकाराम र रुबीना छनोट हुने नहुने विषयमा सङ्घको बोर्ड बैठकमा छलफल गरेर मात्र निर्णय गरिने सुटिङ सङ्घका सचिव प्रदीप खातीले बताउनुभयो ।












प्रतिक्रिया