वासिङ्टन, १ असार । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा जेब बुसले उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले रिपब्लिकनका तर्फबाट उम्मेदवारी घोषणा गर्नुभएको हो ।
फ्लोरिडा राज्यका पूर्व गभर्नर उहाँले सोमबार आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । सोमबार उहाँले आफ्नो उम्मेदवारीको घोषणा गर्नुहुने प्रचार केहीदिन अघि देखि नै गरिएको थियो ।
उहाँले छ महिना अगाडि नै यो दौड सुरु गरिसक्नुभएको हो । उहाँले निर्वाचनको लागि आर्थिक बृद्धि गर्ने, युरोपलगायतका क्षेत्रको भ्रमण गर्ने तथा निर्वाचनका लागि अवश्यक अभियानहरुमा सहभागी हुदै आउनुभएको हो ।
सोमबार गरिएको उम्मेदवारी घोषणासँगै उहाँमाथि कयौँ प्रश्नहरु उठिरहेका छन् । ती प्रश्नमा विशेषगरी उहाँमाथि राजनीतिमा परिवारवादको प्रश्न अहम रहेको छ ।
उहाँका पिता र दाजु पनि अमेरिकाको राष्ट्रपति भइसक्नुभएको छ । उहाँका दाजु जर्ज बब्ल्यु बुस केही वर्षअघिसम्म मात्र अमेरिकाको राष्ट्रपति हुनुहुन्थ्यो । उहाँ वर्तमान राष्ट्रपति बाराक ओबामाअघि नै त्यहाँको राष्ट्रपति हुनुहुन्थ्यो ।
आफू रिपब्लिकनको तर्फबाट उम्मेदवार बन्ने बारेमा सोमबार गरिएको औपचारिक घोषणापछि नै उहाँमाथि यी प्रश्नहरु उठ्न थालेका हुन् ।
फ्लोरिडाको गभर्नर भइसक्नुभएका बुसमाथि आफ्ना दाजुको समयमा अमेरिकाले सुरु गरेको इराक युद्धमा उहाँले किन समर्थन गर्नुभएको थियो भन्ने बारेमा प्रश्न गर्ने गरिएको छ ।
सेतो पृष्ठभूमिमा रातो अक्षरले जेब लेखिएको उहाँको निर्वाचनको लोगो गत आइतबार नै सार्वजनिक गरिएको हो । उहाँले गएको करिब छ महिनादेखि नै निर्वाचन अभियान सुरु गर्नुभएको हो ।
अमेरिकामा आगामी वर्ष हुन लागेको राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्ने क्रम यसअघि नै सुरु भइसकेको छ । हिलरी क्लिन्टनले पनि डेमोत्र्mयाट्को तर्फबाट सो उम्मेदवारी दिनुभएको छ ।
बुसले सोमबार उम्मेदवारी घोषणासँगै दिनुभएको भाषणमा राष्ट्रपति बाराक ओबामाको विरोध गर्नुभएको थियो । बाराक ओबामाले छिमेकी क्युबासँग पछिल्लो समयमा आएर विस्तार गरेको सम्बन्धको बारेमा उहाँले आलोचना गर्नुभएको थियो ।
गएका कम्तीमा पनि पाँच दशकसम्म आर्थिक लगायतका विभिन्न नाकाबन्दी लगाउदै आएको अमेरिकाले पछिल्लो समयमा कयौँ नाकाबन्दी हटाएको छ । साथै अमेरिकाले क्युबालाई आतङ्वादीको सूचीबाट पनि हटाएको छ ।
उहाँले क्युबासँगको सम्बन्धको बारेमा आलोचना गर्दै भन्नुभयो– कुनैपनि गौरवशाली अमेरिकी नागरिक एक पर्यटकका रुपमा असफल भइसकेको क्युबा प्रवेश गर्नु आवश्यक छैन ।
उहाँले आफु राष्ट्रपति भएमा अहिलेको भन्दा पनि राम्रो विदेश नीति अख्तियार गर्ने र अमेरिकाको वर्तमान अवस्थामा धेरै परिवर्तन ल्याउने पनि बताउनुभएको थियो ।
उहाँले आफ्नो निर्वाचनको प्रचार अभियान पनि सोमबारदेखि नै सुरु गरिसक्नुभएको छ । यसअघि अघिल्लो दिनमात्र हिलारी क्लिन्टनले आफ्नो प्रचार अभियान थाल्नुभएको थियो । रासस/सिन्ह्वा
















प्रतिक्रिया