– समाचार/टिप्पणी
काठमाडौं, १ असार । विवादित मुद्धाहरूमा सहमति भयो अब पार्टीका नेताहरूले संविधानसभाबाट संविधान बन्छ भनेर भनिरहेकै बेला विभिन्न तर्कहरू उठ्न थालेका छन् । हुनलाई नेपाली राजनीतिक पार्टीका नेताले भनेको वा सहमति गरेको कुरामा कति सत्यता हुन्छ र भएका सहमतिलाई उनीहरू कति कार्यान्वयन गर्छन भन्ने कुरा नेपाली जनताले राम्रोसँग बुझिसकेका तथा जानिसकेका छन् ।
तर पनि यति हुँदाहुँदै केही न केही नगरी राजनीतिक पार्टीलाई सुखपनि छैन, त्यसैले राजनीतिक दललाई केही त गर्नै पर्ने अवस्था पनि सृजना भएको छ । लागू होस वा नहोस संविधानको कागजलाई नाटकशालाको जस्तो व्यवहार हुने गरेको अहिलेको संविधानसभाबाट कुनै नाटक मञ्चन गरी घोषणा गर्ने काम भयो भने सो नाटकबाट पनि मस्ति लिने भनेको तिनै देश र जनताप्रति गैरजिम्मेवार रहेका कथित नेताहरू नै हुन्, जनता र देशलाई त जे हुँदा पनि भय, त्रास, डर र घाटा नै भइरको छ । अब पनि यो पाराले सुख शान्ति हुन्छ भनेर भन्न सकिने ठाउँ देखिँदैन ।
देश अहिले महाभूकम्पको चपेटामा परेर घायल छ, यही भूकम्पको मौका छोपेर राहतको नाममा नेपाल र नेपालीको अस्मितामाथि खेल्वाड गर्ने विदेशी मिसनहरूको चलखेलका गतिविधि निकै बढेर गएको छ । जसलाई राज्य, राजनीतिक दलहरू मौन रूपमा सहमति दिइरहेका देखिन्छन् । राहतको पोकामा बाइबल राखेर क्रिश्चियानिटीको प्रचार गर्ने, क्रिश्चियन भए मात्रै राहत दिने नत्र नदिने, भूकम्पले भत्किएका घर बनाउँदा पनि धर्म परिवर्तन गरी क्रिश्चियन भएमा बनाइदिने नत्र नबनाइदिने आदि जस्ता नेपालको मौलिकता, नेपाली स्वधर्म, संस्कृति विरुद्धका खेलहरूयस्तो दुदर्शाको अवस्था छोपेर भइरहेका छन् ।
महाभूकम्पले घायल भएर जनताहरू छट्पटाइरहेको मौका छोपेर नेपालका राजनीतिक दललाई सहमतिको नाटक मञ्चन गर्न लगाई चाँडोभन्दा चाँडो संविधान घोषण गर्न विदेशी मिसनका शक्तिहरूले दबाब दिइरहेको बुझिएको छ । ताकि यतिबेला अर्थात भूकम्पको महासन्त्रासले नागरिकहरू आक्कु न व्याक्कु भएको बेला, जनहित तथा राष्ट्रहित विपरित हुने चलखेलमा जनताको तर्फबाट बिरोध तथा प्रतिकार नसकून । यसैलाई मौका छोपेर विदेशी मिसेनरीहरूले नेपालमाथि गम्भीर रूपमा षड्यन्त्रको गोटी चाल्दैछन् । यहाँका नेता भनाउँदाहरू आफ्नो विवेकबाट सञ्चालित नभएर बाहिरको ईसारामा सञ्चालित हुने हुन् भन्ने कुरा प्रमाणित भइसकेको कुरा हो । बाहिरबाट यी यी मुद्धामा नमिल भने नमिल्ने, र अब मिल भने मिल्ने गर्ने गरेका कथित नेतावर्ग अर्थात राजनीतिक शक्तिलाई यतिबेला सहमति गर्न बाहिरबाट स्कूलिङ्ग भएको भान भइरहेको छ ।
हैन भने यस्तो बेलामा कुनै पनि विवादित मुद्धाको बारेमा तटस्थ रहेरमात्रै संविधान बनाउनु पर्नेमा भूकम्पले जनशक्ति कमजोर भइरहेको मौका पारेर असार साउनको झरिपर्ने तथा खेतिपातीको मौसममा जनता खेतबारीमा हुने समयमा संविधानको खोस्टो लागूपर्ने कपट नियतमा राजनीतिक शक्ति रहेको बुझिएको छ । अर्कोतर्फ धर्मको बारेमा नेपालले परापूर्वकालदेखि अप्नाउँदै आएको विश्वका धर्महरूको गुरुधर्म सनातन वैदिक धर्मलाई नै प्रोत्साहन गर्नुपर्छ भन्ने मान्यताले ठूलोरूपमा प्रसय पाइरहेको देखेपछि पनि यो मान्यताको विपरितरूपमा विदेशीहरूबाट आएको धर्मनिरपेक्ष संविधान घोषणा गर्ने मौका यही हुनसक्ने उनीहरूको सोच रहेको बुझिएको छ ।
सनातन वैदिक धर्म नै विश्वको गुरुधर्म हो भन्ने कुरामा विश्व अनभिज्ञ छैन । विश्वका विकसित देशमा अहिले सनातन वैदिक धर्मको अध्ययन अध्यापन हुन थालेको छ । महर्षि वैदिक फाउण्डेशन अन्तर्गत विश्वभरी सञ्चालन भएका गुरुकूल, विद्यालय, महाविद्यालयहरूर जर्मन, ब्रिटेन, अष्टे«लिया, अमेरिका, क्यानडा लगायतका मुलूकहरूमा सञ्चालन भएका सनातन वैदिक हिन्दू धर्मदर्शन तथा शास्त्रका अध्ययन केन्द्रहरू यसका उदाहरण हुन् । फेरि पनि बुद्धधर्मको केन्द्र, किराँत धर्मको केन्द्र, विश्वमै एकमात्र हिन्दूराष्ट्र मानिएर रहेको देश किन धर्म निरपेक्ष हुनपर्ने ? किन धर्मनिरपेक्ष संविधान लेख्न विदेशीहरूले दबाब दिने ? ता कि संसारमा सबै धर्मका धर्म राष्ट्रहरू छन्, मात्रै हिन्दू राष्ट्रको रूपमा एकमात्र रहेको देश नेपाललाई धर्म निरपेक्ष गर्न किन खोजिँदै छ ? यस पक्षमा क्रमशः बुद्धिजीवि क्षेत्रले चेष्टा गर्न त खोजिरहेको छ, तर ढिलो पनि भइसकेको विश्लेषकहरू बताउँछन् ।
अन्तरिम संविधानमा प्रस्ताव गरिएको धर्मनिरपेक्षतालाई नेपाली जनताले कदापि स्वीकार गरेको देखिँदैन । पहिलो संविधानसभाले संविधान दिन नसक्नुमा धर्मनिरपेक्षताको एजेण्डा पनि एउटा कारण थियो । आदिमकाल देखि अप्नाउँदै आएको धर्मलाई एकाएक मासेर अर्को धर्मलाई प्रसय दिने खालको जुन चलखेल हुन गइरहेको छ त्यसबाट हुने घाटाको बारेमा नेपाली जनताले राम्रोसँग बुझिसकेका तथा बुझ्न थालेका पनि छन् । बरु भए बसौंला नभए विदेशतिर जाउँला भनेर विदेशमा धनसम्पत्ति थुपारेका नेताहरूले राष्ट्रधर्म, राष्ट्रियता, संस्कृतिको के कति सम्बन्ध हुन्छ त्यो बुझ्न सकेको तथा खोजेको खासै देखिँदैन । उनीहरूमा मात्र कमिसनको मतलब देखिन्छ, स्वार्थको मतलब देखिन्छ, राष्ट्र चिन्ता देखिँदैन ।
यतिबेला नेपाली नागरिकले एमाले, काँग्रेस लगायतका दलका नेताले चुनाबका दिनमा हिन्दूधर्मको संरक्षण र धर्मनिरपेक्षता नराख्ने बारेमा दिएको आश्वासन पूरा गर्न सक्छन् कि सक्तैनन् कुरेर बसेका छन् । त्यसो त माओवादी पार्टीहरूभित्र पनि धर्मको विषयमा अन्तरद्वन्द सुरु भएको छ । हिजो विदेशी साम्राज्यवाद विस्तारवादको विरुद्ध बन्दुक उठाएको पार्टीले स्वदेशको धर्मलाई मासेर परधर्मलाई प्रसय दिन नहुने कुरामा माओवादी पार्टीहरूका नेता कार्यकर्ताहरूले अनौपचारिक अभिव्यक्ति दिइसकेका छन् भने विभिन्न विभागीय प्रमुखहरू खुलेरै हिन्दूराष्ट्रको पक्षमा उभिइसकेका छन् । पूर्व लडाकु लगायतका पक्तिहरूले विगतमा पार्टीले आफूहरूलाई दिएको प्रशिक्षणमा देशको मौलिकता मास्ने खालको कुनै पनि मुद्धा पार्टीको नभएको स्कूलिङ्ग गरिने गरेकोमा युद्धलाई विसाएर सार्वजनिक भएपछि पार्टीले आफूहरूलाई दिएको भन्दा अलग खालका मुद्धाहरूलाई प्रसय दिइरहकोमा आफूहरूलाई चित्त नबुझिरहेको बताउन थालेका छन् । चित्त नबुझेका मुद्धामा हिन्दू राष्ट्र हटाएर धर्मनिरपेक्षता गर्ने एजेण्डा प्रमुख रहेको उनीहरू बताउँछन् ।
पार्टीहरूका मध्यमार्गी नेताहरूले देशको मौलिक धर्मलाई सम्बोधन गरेर नै संविधान लेख्नपर्ने तर्फ आफ्नो पाटीभित्र विचार राख्ने गरेको बताइसकेका छन् । नेपाली काँग्रेसभित्र पूर्वमन्त्री खुमबहादुर खड्काको प्रमुखत्वमा सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान नै सञ्चालन भएको छ । जसमा वर्तमान मन्त्रिपरिषद्मा रहेका लगायतका धेरै सभासद् तथा नेता कार्यकर्ता रहेको सर्वविदित कुरा नै हो । एमालेभित्र मोदनाथ प्रश्रितलगायत वर्तमानमा पार्टीको संस्थापन पक्षमा रहेका धेरै नेताहरू पर्छन् । कतिले सार्वजनिक अभिव्यक्ति नदिएपनि व्यक्तिगत भेटघाट आदिमा धर्मनिरपेक्ष हुन नहुने र धर्मनिरपेक्षताको विरुद्ध सडकबाट आवाज उठे आफूहरूले सदनमा हिन्दूधर्म सापेक्षताको पक्षमा बोल्ने तथा भूमिका निर्वाह गर्ने बताएका छन् । यसै गरी सिपी गजुरेल लगायतका माओवादी नेताहरूले पनि सेकुलरको शाब्दिक अर्थ गर्दा गल्ति भएको र यसलाई धार्मिक स्वतन्त्रता भन्ने गर्नुपर्ने अभिव्यक्ति दिँदै आएका छन् । यसै गरी एमाओवादीभित्र पनि धेरै यस्ता नेताहरू छन् जसले हिजोका दिनमा विदेशी सामराज्यवादको विरुद्ध लड्न सिकाएको आफ्नो पार्टीले अहिले आएर आफ्नो धर्मलाई हटाएर परधर्मलाई महत्व दिने खालको विदेशी सामराज्यवादलाई प्रसय दिने काम गर्छ भने त्यसको पार्टीभित्रै विरोध गरिने तथा कुनै पनि हालतमा मौलिकता लोप गर्न नपाइने र त्यसो गर्न खोजिए पार्टीभित्र कडा विद्रोह सृजना गरिने बताउन थालेका छन् ।
विदेशीको पैसा खाएर यो देशको मुख्य पहिचान हिन्दू राष्ट्रलाई फाल्ने अनि फेरि तथानाममा पहिचानको कुरा उठाउने पार्टीको नेतृत्व पक्षमाथि तत्तत् पार्टीका कार्यकर्ता तहबाट धावा बोल्नसक्ने सम्भावना अनुमान गर्न सकिन्छ । ईतिहासका यस्ता जटिल स्थितिमा उपयुक्त भूमिका निर्वाह गर्न नसके भोलीका दिनमा जनताले के भनेर पत्याउने ? राजनीति गर्ने सपना देखेका जो कोहीले पनि होस पुर्याउनुपर्ने कुरा हो । नेपालमा विदेशी चलखेलले सयभन्दा बढी पार्टी बनेका छन् त्यो नेपालको हितको पक्षमा छैन, खाली त्यो तिनै विदेशी मिसनरीहरूको हितमा छ जसले नेपालमा नेपाली एकआपसमा लडेर, फुटेर गृहद्वन्द भइरहोस र आफूहरूले चलखेल गर्न मिलिरहोस भन्ने चाहन्छन् ।
वास्तविकतालाई चिन्तन गर्दा नेपाललाई हिन्दूधर्मको मुख्यस्थलको रूपमा जसरी विगतमा चिनिँदै आएको हो, सोहीबमोजिमको पहिचान कायम राख्न पर्छ भन्नेमा आम सर्वसाधारण रहेकोमा दुईमत छैन । भलै केही निश्चित व्यक्तिहरूआयातित विचार र बाह्य चारोको भरमा ठूलो स्वरले धर्मनिरपेक्षताको वकालत गरीपनि रहेका छन् र उनीहरूको डलरको विषाक्त डकारलाई केही मिडियाले पनि उचालेको तथ्य जनताले मुल्याङ्कनपूर्वक बुझिराखेका छन् ।
नेपाललाई हिन्दूराष्ट्रको रूपमा कायम राख्न पर्ने पक्षमा पछिल्लो समयमा आएर नेपाली काँग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले पार्टीभित्र ठूलो शक्ति निर्माण गरेका छन् । भलै राजनीतिक दाउपेचबाट भ्रष्टाचारको मुद्धा समेत खेपिसकेका खड्काको व्यक्तित्वप्रति मान्छेहरूले केही अलग रूपमा हेर्ने गर्थे, तर खड्काको व्यवहारमा कुनै पनि खालको हिनता देखिएन बरु उनले आफ्नो सफाई सञ्चारका माध्यमबाट स्पष्ट राख्दै गए जसले पार्टीभित्रका नेता कार्यकर्ता तथा नेपाली जनताको उनीप्रतिको झुकाव पूर्ववत् पाइयो । साथै सञ्चारक्षेत्रले उनीको बारेमा पस्केको वास्तविकताले पनि खड्का भ्रष्टाचारको नाममा परिबन्दमा परेका मात्रै रहिछन् वास्तविक रूपमा दोषी हैनन् भन्ने कुरा प्रमाणित हुँदै गएको छ । भ्रष्टाचारकै कुरा गर्ने हो भने पनि लाउडा, धमिजा लगायतका विभिन्न काण्डहरू गुपचुप भए, कस्ता कस्ता मुद्धाहरूलाई सर्वोच्चले पनि अगाडि नै बढाएन । कस्ता कस्ता मुद्धाहरू दर्ता भएपनि अख्तियारले पनि गुपचुप राख्यो । वास्तविक भ्रष्टाचारीको खोजतलासमा धेरै कुख्यात राजनीतिक भिलेनहरू पर्नेछन् जो अहिले पनि मन्त्रिपरिषद्मा होलान् भने धेरै विभिन्न पहुँचमा छन् । कतिको बारेमा सर्वोच्च, अख्तियार लगायतमा परेका रिटहरूको सुनुवाइ नै नभई त्यही धमिरा लागेको छ । यसर्थमा खुमबहादुरले सर्वोच्चको आदेशलाई स्वीकार गरी सजाय भोगी, पुनः जनताको माझमा जसरी गएका छन् त्यसले उनलाई जनताको अदालतबाट सफाई पाउने काम गरेका छन् । जुन तरिकाले खुमबहादुर आम सर्वसाधारणको बीचमा आउने हिम्मत गरेका छन् त्यो निकै सह्रानीय छ । यसले उनबाट नेपाली जनताले विशेष भूमिका चाहेका छन् भन्ने खड्काले बोध गरेका छन् भन्ने पनि देखाउँछ ।
तर यतिबेला देशको राजनीति जुन मोडमा उभिएको छ, त्यसमा उनले ठूलो दायित्त्वबोध आँट साहस गर्नसक्नु पर्ने विश्लेषकहरूको भनाइ रहेको छ । हिजोका दिनदेखि हिन्दूराष्ट्रको मुद्धामा अडिग रहँदै आएको राप्रपा नेपाल तथा कमल थापा, अन्य शक्तिका नेतृत्वपक्ति सबैले यतिबेला आ–आफ्नो दायित्त्वबोध गरेर संघर्षको मैदानमा आउने आँट र साहस गरेर उत्रिनुपर्ने स्थिति सृजना भएको नेपाली नागरिकले महसूस गरेका छन् । भने यतिबेला हिन्दूराष्ट्रको पक्षधर जो संविधानसभामा रहेका पनि छन् उनीहरूले कतिसम्म कठोर भूमिका निर्वाह गर्ने त्यो पनि बेलैमा विवेक गर्नसक्नुपर्ने देखिन्छ । अबको स्थिति भनेको उनीहरूको अग्नि परीक्षाको घडि पनि हो ।
अहिलेसम्म जे जसरी हिन्दू धर्मलाई राष्ट्रको धर्म बनाउन भनेर जतिपनि संघसंस्था आदिले संघर्षका गतिविधि गरे त्यो आफ्नो ठाउँमा सह्रानिय रहेको पाईएको छ । अब पनि नेपाललाई विश्वकै हिन्दूहरूको गन्तव्यको राष्ट्रकै रूपमा कायम राख्नको लागि जस्तोसुकै संघर्ष गर्नुपरे पनि जनता सडकमा आउन चाहन्छन् त्यसको लागि नेपाललाई हिन्दूराष्ट्रकै रूपमा कायम राख्ने राष्ट्रवादी मुद्धाको संघर्षमा हिम्मतपूर्वक लिडिङ गर्ने साहसी नेता खोजिरहेका छन् । साथै हिजोका दिनमा अबुझवश धर्मनिरपेक्षता घोषणा हुँदा मौन रहेका तर पछि आएर सो कार्यलाई गल्ति महसूस गरेका र अब नेपाललाई हिन्दू राष्ट्रकै रूपमा संविधानमा सम्बोधन गर्न चाहने राजनीतिक शक्तिले पनि सडकबाट व्यवस्थित आन्दोलनको कार्यक्रम सम्पादन होस भन्ने चाहन्छन् ताकि आफूहरूलाई सदनमा आवाज उठाउन सहज होस् ।
















प्रतिक्रिया