
कालीकोट, ६ चैत । खाँडाचक्र नगरपालिका-५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको आगोले जलेर घाइते भएकी बालिकाको ज्यान गएको छ । आगोमा घाइते भएकी १२ वर्षीया हेमन्ती चौलागाईको मृत्यु भएको हो । उनको सोमबारै सुर्खेतस्थित गिरीघाट खोलामा दाहसंस्कार गरिएको छ।
शुक्रबार घरमुनिको वनमा बुबासँग बाख्रा चराउन गएकी बालिका बुबा नन्दाराम चौलागाईसँगै आगोले पोलिएर घाइते भएकी थिइन् ।
घाइते बालिकालाई मान्म हुँदै जुम्लाबाट शनिबार बेलुकी हेलिकोप्टरमा सुर्खेत लगिए पनि उपचारका क्रममा आइतबार बेलुकी मृत्यु भएको प्रहरीको भनाइ छ । वनमा चराउन लिएका उनीहरूका ४५ वटा बाख्रा सबै मरेका छन् । घरमा रहेका २ दिनका ६ वटा पाठा पनि दुध खान नपाएर मरेको बताइएको छ ।
आगोले पोलिएर घाइते भएका नन्दारामको उपचारको लागि कालीकोटका स्थानीय व्यवसायी तथा आफन्त हिरामणि चौलागाईको पहलमा नन्दाराम बचाउ अभियान संचालन गरिएको छ ।












प्रतिक्रिया