फलेवास (पर्वत), ३२ जेठ । विवाहमा भोज भतेर गर्ने र तडकभडक गर्ने प्रचलन अझै पनि कायमै छ । कतिपय व्यक्ति त ककटेल पार्टी नै दिएर लाखौँ रुपैयाँ खर्च गर्न पनि पछि पर्दैनन् । तर यहाँका एक युवाले विवाहभोजको रकम कटाएर सामाजिक क्षेत्रमा लगानी गरेका छन् ।
पर्वतको कुश्मा नगरपालिका–८ का मोहन आचार्यले विवाह भोजको रकम कटाएर सदरमुकाम कुश्माबजारका दुई ठाउँमा सौर्य बत्ती जडान गर्नुभएको छ । विद्युुत् भार कटौतीको समयमा सदरमुकाममा अन्धकार हुने र चोरी डकैतीका घटना बढ्न सक्ने भएकाले उक्त सहयोग गरेको उहाँले बताउनुभएको छ ।
शनिबार विवाह बन्धनमा बाँधिनुभएका मोहन आचार्य र सन्जु गौतमले आइतबार निमित्त प्रमुख जिल्ला अधिकारी चूडाराज भट्टराई र प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठलाई सौर्य बती हस्तान्तरण गर्नुभयो । विभिन्न सामाजिक क्षेत्रमा समेत आबद्ध रहनुभएका आचार्यको सहयोगमा लोकतान्त्रिक चोक र शिवालय चोकमा सौर्य बत्ती जडानसमेत गरी सकिएको छ । रोट्याक्ट क्लब अफ पर्वतका संस्थापक अध्यक्षसमेत रहनुभएका आचार्यले विपत्तिका बेलामा तडकभडक गरेर विवाह मनाउनुभन्दा सामाजिक क्षेत्रमा लगाउनु उचित ठानेर सहयोग गरेको बताउनुभयो । रासस















प्रतिक्रिया