२ कार्तिक २०८३, सोमबार

रञ्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन : रेशम चौधरी

5.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आफू र आफ्नो श्रीमतीसमेत रहनुभएकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठबीच भएको असमझदारी घर झगडा नभई राजनैतिक रहेको प्रष्ट पार्नुभएको छ । बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उहाँले यस्तो बताउनुभएको हो ।

रेशमले आफू कुनै पनि पार्टीको गठबन्धनमा सहभागी हुन नखोजेको तर रञ्जिता वर्तमान सत्तारुढ गठबन्धनमा जाने पक्षमा रहनुभएकोले पार्टीमा मतभेद रहेको खुलाउनुभएको छ ।

‘घर झगडा हुँदै होइन, विषय राजनैतिक हो । मैले जानेको बुझेको यही हो । जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो । आज पनि हेर्नुस् , एमाले, माओवादी, कांग्रेस । यी ठुला दलका नेता, कार्यकर्ता सांसद कतै चलमलाएका छन् र ? तर एकीकृत समाजवादी, जसपा, नाउपा, लोसपा, रास्वपा, राप्रपा जस्ता साना दलमा कत्रो भुँईचालो गएको छ ? त्यसैले कुरा बुझौं, कुनैपनि गठबन्धनका पछाडी नलागौँ ।’ रेशमले अगाडि भन्नुभएको छ, ‘विषय जित हारको होइन, आज जिते प्रचण्ड, ओली जित्लान् । भोलि फेरी देउवा जित्लान् । सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिध्याउने नै हो । त्यसैले हामी कसैका पछाडी नलागौँ, आफ्नो पार्टी निर्माणमा जुटौँ ।’

उहाँले आफ्नो पार्टी नागरिक उन्मुक्ति पार्टी कांग्रेस कम्युनिस्ट होइन, भौगोलिक सांस्कृतिक पहिचान सहितको संघीयताका लागि समुदायमा आधारित समाजवाद प्रत्युत्पादनका लागि जन्मेको पार्टी हो भन्दै एकअर्कोमा हिलो छ्यापाछ्याप नगरौँ, आफ्नो नीति सिद्धान्त अनुरुप चल्नुपर्ने उल्लेख गर्नुभएको छ ।

‘कुरो रह्यो बुढाबुढिको । म उनलाई सम्झाउन कैलाली बाट काठमाडौं आएकै हुँ । दुई घण्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भैइनन् । उनको भनाइ छ – प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे, हामीले उनको साथ छोड्नुहुन्न । अरे लाटी, टिकापुर घटना पछि पनि प्रचण्ड दुईचोटी प्रधानमन्त्री भएकै थिए, हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो तर हामी रिहा भएनौँ नि । अहिलेपनि कसैको कृपाले राजबन्दी रिहाई गरेका होइनन् ,दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाई भएका हौँ र तिमी पनि मन्त्री भएकी हौँ ।’ रेशमले भन्नुभएको छ, ‘नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट हामिले केही उख्ल्नेवाला छैनौँ । जताबाट पनि भलो ठुलै दलको हुने हो, हामी एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो । मैले तिमिलाई सम्झाउन सकिन प्रिय र आफुले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन । आज लोग्ने स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन् । मलाई चिन्ता यसैमा छ, तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न । आज जतिले मन दुखाएका छन् ती हामीलाई हृदय देखि चाहनेवाला हुन् । मलाई भोट हाल्, मलाई भोट हाल भन्नेहरु हामीलाई डुबाउने वाला मात्रै हुन् । मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौँ टण्टै साफ ।’

उहाँले आफूले जेलमा लेखेको विधानले पार्टी चलेको र यो सबैको सदुपयोगीका लागि विधान रहेको पनि बताउनुभएको छ ।

‘हो, जेलमा मैले लेखेको विधानले आज पार्टी चलेको छ । तर मैले सबैको सदुपयोगीका लागि विधान लेखेको हुँ, दुरुपयोगका लागि होइन । अहिले विधानको कारण देखाएर निर्वाचन आयोगले जुन निर्णय गरेको छ त्यो अत्यन्त दुर्भाग्यपूर्ण छ । सबै कानुन जान्नेलाई थाहा छ, महाधिवेशन विधान भन्दा माथि हुन्छ । सत्ताको सदुपयोग या दुरुपयोग क्षणिक हो तर जनता जनार्दन हुन् । यसका बारेमा अदालतले केहिदिनमा अवश्य न्याय देला । तर याद रहोस्, केन्द्रीय कमिटीको निर्णय नमान्नेलाई कार्वाही गर्नुपर्छ र कार्वाही भोग्नुपर्छ । सबैलाई लागेको होला, केन्द्रीय समितिको निर्णय मैले गराएको हुँ । यो सोच्दै हुनुहुन्छ भने तपाई भ्रममा हुनुहुन्छ । उहिले भन्न सक्दिन अहिले केन्द्रीय समितिले स्वतन्त्र भै निर्णय गरेको हो । अब हरेक निर्णय यसरी नै स्वतन्त्र भै गर्नुपर्छ । मेरा कारण लाखौं जनताको मन दुखेको मलाई अनुभुत भएको छ, त्यसकारण म क्षमा चाहन्छुँ तर पहिचानको आन्दोलनको सिपाही हुँ । कहिल्यै हार मान्नेवाला छैन । म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ । रञ्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन । मान्नैपर्छ, दुख दैवले मेरो थाप्लोमा थुपारेरै पठाएको हो ।’ उहँले लेख्नुभएको छ ।