
वीरगञ्ज, २४ फागुन । वीरगञ्जका पत्रकार नेहाल खानको निधन भएको छ ।
नेपाल टेलिभिजनका पर्सा संवाददाता रहनुभएको खानको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचारका क्रममा बुधबार राति सवा १० बजेतिर मृत्यु भएको हो । गत सोमबारदेखि अस्पतालको आइसियुमा भर्ना भएका खानको उपचारकै क्रममा बुधबार राति सवा १० बजेतिर मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ ।
झण्डै दुई दशकभन्दा बढी समय देखि वीरगञ्जमा सक्रिय पत्रकारिता गर्दै आउनुभएका ५२ वर्षीय खान वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ प्रगतिनगरका स्थायीबासी हुनुहुन्थो ।
कोभिड महामारीका बेला कोरोनाको चपेटामा परेर सिकिस्त भएका खान त्यस बेला नेशनल मेडिकल कलेजमा भर्ना भइ उपचार गराउनुभएको थियो । तर, त्यसबेला कोभिड नेगेटिभ भएपछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएपनि उहाँको छाती र फोक्सोको समस्या पूर्णरूपमा निको भएको थिएन ।
करिब १० महिना पहिले फेरि छाती र फोक्सोको समस्या बल्झिएपछि नारायणी अस्पतालमा उहाँ भर्ना हुनुभएको थियो । नारायणी अस्पतालमा करिब दुई महिनाको उपचारपछि उहाँ घरमै चिकित्सकको रेखदेखमा अक्सिजन लिएर उपचार गराईरहनुभएको थियो ।
खानकी पत्नि अजमा खातुन पनि क्यान्सर रोगबाट ग्रसित भई उपचाररत हुनुहुन्छ । भरतपुर क्यान्सर अस्पतालमा उहाँको पनि करिब ६ महिनादेखि उपचार चलिरहेको छ । खानका दुई छोरी र दुई छोरा हुनुहुन्छ ।








प्रतिक्रिया