२ कार्तिक २०८३, सोमबार

तीन करोडभन्दा साना योजना अब प्रदेश र स्थानीय तहमा पठाइने

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले तीन करोडभन्दा साना योजना संघमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताउनुभएको छ ।

शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले संघीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैन । अलि रणनीतिक महत्वका योजना मात्र संघमा राख्छौं । तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहले नै गर्छन् । बजेटको क्षेत्र तोकेर पठाइन्छ । आयोजना छनोटको अधिकार प्रदेश र स्थानीय तहलाई नै दिइन्छ ।’

नयाँ योजना धेरै नथपिकन पूरा हुन बाँकी पुराना योजनामा बजेट विनियोजन गरिनेसमेत उहाँले बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘खर्च गर्न नसकिने शीर्षकमा बजेट थुपार्ने, अत्यावश्यक आयोजनामा बजेटका अभाव हुने बेथिति अन्त्य गर्नुपर्छ । पुराना योजना सम्पन्न गर्ने कुरामा सरकारको पुरै जोड रहन्छ ।’

बैठकमा प्रधानमन्त्रीले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेको जानकारीसमेत गराउनुभएको छ । उहाँले अगाडी भन्नुभयो, ‘बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर निर्णय गरिन्छ । आयोग बनाएर छानविन गर्ने निर्णय सरकारकै हो । प्रतिवेदन अध्ययनको प्रक्रियामा छ । अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्छौं । यो सरकारको क्षेत्राधिकार हो । प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ ।’

आगामी मन्त्रिपरिषद बैठकपछि सरकारको तर्फबाट संसदमा विधेयकहरू प्रस्तुत गर्ने भएकाले प्रस्तुत विधेयकहरू पारित गराउन सांसदहरूलाई प्रधानमन्त्रीले निर्देशित गर्नुभएको छ । प्रधानमन्त्रीले भन्नुभयो, ‘आउने क्याविनेट बैठकमा छलफल गरेर संसदमा विधेयकहरू पेश गर्ने सरकारको तयारी छ । विधेयकहरू पारित गराउन तपाईहरूले प्रभावकारी भूमिका खेल्नुहोस् ।’