
काठमाडौं, ५ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृति संरक्षण आज मानवजातिको साझा चासो र चुनौतीको विषय बनेको बताउनुभएको छ ।
वन तथा वातावरण मन्त्रालय, न्यायाधीश समाज र राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा शनिबार राजधानीमा आयोजित वन्यजन्तु संरक्षण र वातावरणीय न्याय विषयक सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अहिलेको विश्व जलवायु परिवर्तनलगायतका वातावरणीय चुनौतिहरूको शिखरमा उभिएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘अहिलेको विश्व जलवायु परिवर्तनलगायतका वातावरणीय चुनौतिहरूको शिखरमा उभिएको छ, त्यसबाट नेपाल पनि अछुतो छैन । वातावरण र वन्यजन्तु संरक्षणको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो र गहिरो अभिरूचीसमेत बढिरहेको छ ।’
प्रकृतिको अनुपम जैविक सृष्टिको रूपमा प्राणी तथा वनस्पति जगतलाई लिएको बताउँदै उहाँले यसले पृथ्वीलाई जीवन्तता प्रदान गरेको उल्लेख गर्नुभयो ।
मुलुकको दिगो विकाससँग प्रकृति तथा जैविक विविधता र वन्यजन्तु संरक्षण प्रत्यक्ष रूपमा जोडिएको पौडेलको भनाइ छ । उहाँले भन्नुभयो, ‘त्यसमा पनि नेपालमा पाइने बाघ, गैंडा, हात्ती, हिउँ चितुवाजस्ता ठूला वन्यजन्तुदेखि स–साना वन्यजन्तुसम्मले परिस्थितिकीय प्रणाली सन्तुलनमा खेल्ने भूमिकाबारे हामी जानकार छौं, तर यससम्बन्धी आम जनचेतनाको स्तर के कस्तो छ, त्यसले महत्वपूर्ण भूमिका खेल्छ ।’
राष्ट्रपति पौडेलले वातावरणीय न्यायको सन्दर्भमा परिवर्तनशील अवस्थालाई मध्यनजर राखेर न्यायीक दृष्टिकोणको खाँचोमा केन्द्रित हुनु विद्धान वर्ग, सम्बन्धित सबै न्यायीक र तीन तहको सरकारका सबै सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराउनुभएको छ ।








प्रतिक्रिया