
काठमाडौं, २० माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पक्राउ परेका व्यापारी अरुण चौधरीलाई प्रहरी कार्यालयको हिरासतमा नराखी अस्पतालमा राखेको भन्दै आपत्ती जनाउनुभएको छ ।
शनिबार पार्टी संसदीय दलको बैठकपछि बोल्दै अध्यक्ष ओलीले पूर्वमन्त्री, पूर्वप्रधानमन्त्रीलाई हत्कडी लगाएर जेलमा राख्ने तर व्यापारीलाई प्रहरी कार्यालयको बाटो हुँदै अस्पताल लगिएको भन्दै आपत्ति जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘हिरासतमा को बस्नु पर्ने हो, को बस्न नपर्ने हो ? व्यापारी नै समातिँदा हिरासतमा मात्रै होइन जेलमै हाल्यो त, पूर्वमन्त्री, प्रधानमन्त्री भइसकेका मान्छेलाई हत्कडी लगाएर र जेलमा राखेर मुद्दा लगाइयो । तर एकजना व्यापारी पक्राउ पर्दा प्रहरी कार्यालयको बाटो हुदैँ अस्पताल लगियो रे । कस्तो थिति हो यो ?’
त्यस्तै, उहाँले लुम्बिनीको रामग्राम स्तूप निजी कम्पनीलाई दिन लागिएको भन्दै सरकारको चर्को आलोचना गर्नुभएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले लुम्बिनीको विकास नभई रामग्राम परियोजना बनाएर भ्रष्ट्राचारको तानाबाना बुनेको उहाँले बताउनुभयो । उहाँले अघि भन्नुभयो, ‘बैंकको सम्पत्ती राख्ने स्थानमा बुलेट राखियो तर पेस्तोलको खोजी भएन । त्यस्ता मान्छेलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाइयो । त्यस्तो विवादस्पद व्यक्तिलाई किन बनाइयो रु के कारण होला भनेर खोजी गर्दा लुम्बिनीको विकास होइन्, राम ग्रामतिरबाट विकास सोझ्याउने धन्दा पो रहेछ ।’
सम्पदाको विकासका क्रममा सरकारले भ्रष्टाचारको तानाबाना बुनिएको उहाँको भनाइ थियो ।
त्यसैगरी अध्यक्ष ओलीले सत्ताको दुरुपयोग गरेर रेडक्रस, स्काउड जस्ता संस्थाको सम्मेलन हुनमा रोक लगाएको उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले सत्ता गठबन्धनभित्रका दलहरु मुलुकको विकासका लागि केही गर्छु भन्ने नभइ भ्रष्टाचार, तस्करी, अयोग्यताको पर्यावाची भएको आरोप लगाउनुभयो ।








प्रतिक्रिया