२३ असार २०८३, मंगलबार

एनआरएनएद्वारा सेती प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सेती प्रादेशिक अस्पताललाई १ करोड २५ लाख रुपैयाँको अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । बिहीबार धनगढीमा आयोजित एक कार्यक्रममा एनआरएनए अध्यक्ष डा. बद्री केसीले अस्पतालका अध्यक्ष नरबहादुर शाहलाई अक्सिजन प्लान्ट हस्तान्तरण गर्नुभएको हो ।

प्लान्टको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले अक्सिजन प्लान्ट स्थापना गरेर एनआएरएनएले सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सुदूरपश्चिमको स्वास्थ्यलाई सेती प्रादेशिक अस्पतालले थेगेको समेत बताउनुभयो । मन्त्री साउदले प्रदेशको बेरोजगारी र गरिबी अन्त्यका लागि सुदूरपश्चिममा केही परियोजना सञ्चालन गर्न एनआरएनएलाई आग्रह गर्नुभएको छ । उहाँले सुदूरपश्चिममा जनशक्तिको अभाव नरहेको उल्लेख गर्नुहुँदै बेरोजगारी समस्याका कारण प्रदेशको श्रम भारत पलायन भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष डा. केसीले कोरोना महामारीको बेला गैरआवासीय नेपाली संघले विदेशमा र नेपालमा रहेका नेपालीहरुलाई ठूलो सहयोग पुर्‍याएको स्मरण गर्नुभयो । डा. केसीले आफ्नो गाँस काटेर विदेशमा बस्ने नेपालीहरुले देशमा प्राकृतिक प्रकोप, भूकम्प वा कोरोनामा महामारीमा सहयोग गर्दै आएको बताउनुभयो । उहाँले सम्पूर्णदाताहरुलाई संघको तर्फ धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिमखडाले सानो सहयोगले पनि मानिसको ज्यान जोखिमबाट बच्न सक्ने भएकाले मोबाइल ब्लड बस, अक्सिजन प्लान हस्तान्तरण गरेको बताउनुभयो । उहाँले नेपालका दुर्गम क्षेत्रमा टेलिमेडिसनको सेवा संचालन गर्न सकिने बताउँदै आगामी दिनमा गैरआवासीय नेपाली संघको सहकार्यमा टेलिमेडिसीन कार्यक्रम संचालन गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा अस्पतालका अध्यक्ष शाहले संघले प्लान्ट हस्तान्तरण गरेपछि अस्पताल अक्सिजनमा पूर्णरुपमा आत्मर्निभर भएको बताउनुभयो । उक्त प्लान्टले हावामा रहेको अन्य अक्सिजनलाई प्रशोधन गरेर १ घण्टामा ८ वटा सिलिन्डर तयार गर्न सक्छ । प्रदेश आपूर्ति व्यवस्था केन्द्रका प्रमुख डा. नीरज अर्यालले सेतीमा अक्सिजन प्लान्ट स्थापनाले ठूलो हौसला मिलेको बताउनुभयो ।