काठमाडौं, २६ चैत । नेपाल उद्योग वाणिज्य महासंघमा अध्यक्षका प्रत्सायीबीच नेपाली व्यवसायीको विदेशमा लगानी सम्बन्धमा मत बाझिएको छ । अधिकाशं मुद्दामा समान धारणा राख्ने महासंघ प्रत्यासी भास्करराज राजकर्णिकार र प्रदिपजंग पाण्डेले नेपाली व्यवसायीको विदेशमा लगानीका वारेमा भने छुट्टाछुट्टै धारणा राखेका छन् ।
नेपाल आर्थिक पत्रकार समाज सेजनले आज गरेको अन्तरसंवादमा राजकर्णिकारले यसलाई निजि क्षेत्रले प्राथमिकतामा राख्न नपर्ने बताए भने पाण्डेले यसलाई नेपालको अर्थतन्त्रबाट अलग्गै राखेर हेर्न नमिल्ने जिकिर गरे ।
अध्यक्षका प्रत्यासी भास्करराज राजकर्णिकारले नेपालमा नै पुँजीको अभाव भएको अवस्थामा विदेशमा लगानी गर्न दिने विषयमा महासंघले प्राथमिकता दिन नसक्ने बताए । ‘लगानी मैत्री वातरण निर्माण गरी स्वदेशी मात्र नभएर विदेशी पुँजी पनि भित्रायाउनु पर्ने अवस्था छ’, उनले भने,‘ पुँजी पनि पानीजस्तै भएकाले यो जहाँ भिरालो हुन्छ, त्यतैपट्टि बग्ने गर्छ ।’ उनले नियम र वैधानिकताको अभावमा नेपाली व्यवसायीले विदेशमा चोरबाटोबाट लगानी गरिरहेकाले त्यस्ताको पक्षमा महासंघ नउभिने प्रतिवद्धता जनाए ।
अध्यक्षका अर्का प्रत्यासी पाण्डेले विदेशी लगानीकर्ताको नेपालमा लगानी र नेपाली व्यवसायीको विदेशमा लगानीलाई छुट्टै कोणबाट हेर्न नमिल्ने बताए । ‘पुँजी भएकाले नाफाको अवसर खोज्छन् र केही क्षेत्रमा नेपाली व्यवसायीले पनि विज्ञता हासिल गरिसकेका छन्’, उनले भने,‘ नेपालमै होटल, विद्यालय र अस्पताल खोलेर विज्ञता हासिल गरेकालाई विदेशमा नजाउँ भन्नु मानसिक संर्किणता मात्र होलाजस्तो लाग्छ ।’
उनले विदेशमा लगानी गर्दा संस्थागत हुन भने आवश्यक भएको जानकारी दिए । ‘ मेरो आफ्नै ओषधि उद्योग छ र म्यानमारमा यस्ता उद्योग खोल्न माग पनि आइरहेका छन्’, उनले भने,‘ तर यसलाई संस्थागत गर्न नसक्दा धक फुकाएर विदेशमा कमाएको पैसा स्वदेश ल्याउन सकिएको छैन ।’ नयाँ पत्रिका दैनिकबाट













प्रतिक्रिया