११ श्रावण २०८३, सोमबार

आचारसंहिताविपरीत गतिविधिबारे प्रतिवेदन दिन आयोगको मोरङ प्रशासनलाई निर्देशन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १० माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनको मौन अवधिमा आचारसंहिता विपरीत गतिविधि भएको विषयमा सत्यतथ्य बुझी २४ घण्टाभित्र आयोगमा प्रतिवेदन पेश गर्न निर्वाचन आयोगले मोरङ प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मौन अवधिमा विराटनगरमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले चियापान तथा निर्वाचनसँग सम्बन्धित प्रचारप्रसार, छलफल, अन्तरक्रिया गरेपछि आयोगले त्यसबारे बुझेर प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो ।

मौन अविधमा राष्ट्रिय सभा सदस्य निर्वाचनसँग सम्वन्धित प्रचारप्रसार, छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने व्यवस्था छ । मौन अविधमा निर्वाचन प्रचारप्रसारका गतिविधि गरेको जानकारी आएको भन्दै आयोगले त्यसबारे प्रतिवेदन पेश गर्न मोरङका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा ५ विपरीतको कार्यभएको हो वा होइन ? सत्यतथ्य बुझी २४ घण्टाभित्र आयोगमा प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । आयोगले मतदान हुनुभन्दा ४८ घण्टा अगाडिबाट चुनाव प्रचारप्रसारमा रोक लगाएको छ ।

कांग्रेसका नेता कोइरालाले बुधबार बिहान चियापानसहित भेला आयोजना गर्नुभएको थियो । चियापानमा राष्ट्रिय सभाका उम्मेदवार समेत रहनुभएका कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल, रामहरी खतिवडा, मीनबहादुर विश्वकर्मा, सरिता प्रसाईँलगायत सहभागी हुनुहुन्थो ।

कोशीमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेसका कृष्णप्रसाद सिटौला, राप्रपाका उद्धव पौडेल तथा महिलामा नेकपा एमालेकी रुक्मिणी कोइराला र माओवादीकी चम्पा कार्की उम्मेदवार हुनुहुन्छ ।