२६ कार्तिक २०८३, बिहिबार

अग्निपीडित बस्नेतलाई कोष र नगरपालिकाको ४ लाख सहयोग

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, ६ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा पेलुङका अग्निपीडित गणेश बस्नेतलाई राहत जुट्न थालेको छ । घरमा कोही नभएको समयमा बुधबार अपराह्न ४ बजे एक्कासी लागेको आगोले पूर्णरूपमा घर जलेर विस्थापित हुनुभएका बस्नेतलाई कोशी प्रदेश विपद् व्यवस्थापन कोष र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले संयुक्तरूपमा रु चार लाख दिने निर्णय गरेको छ ।

नगरप्रमुख तीर्थराज भट्टराईले घटनास्थलमै पुगेर उक्त राहत रकम पीडित बस्नेत परिवारलाई चाँडै उपलब्ध गराउने बताउनुभयो । अग्निपीडित बस्नेतलाई वडा कार्यालय तथा विभिन्न दाताहरुले सहयोग गरिरहनुभएको निर्मलीडाँडाका वडाध्यक्ष दिनेश कठेतले जानकारी दिनुभयो ।

बस्नेत परिवारलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले पनि बन्दोबस्तीका सामान उपलब्ध गराएका छन् । बन्दोबस्तीका सामान लिएर रेडक्रस सभापति ज्ञानेन्द्र जोशी घटनास्थल पुग्नुभएको थियो । हाल पाँचजनाको बस्नेत परिवार कटेरामा बसिरहेको छ ।

आगलागीमा बस्नेतको घरभित्र रहेको अन्नपात, भाँडावर्तन, लत्ताकपडा जलेर नष्ट हुँदा अन्दाजी रु नौ लाख ५० हजारबराबरको क्षति भएको प्रहरीले जनाएको छ । दिउँसो समयमा आगलागी भएकाले मानवीय र चौपायामा भने क्षति नभएको स्थानीय बासिन्दाले बताएका छन् ।

आगलागीको उच्च जोखिममा रहेको खोटाङमा आगलागीबाट बच्न तथा आगलागीका घटना न्यूनीकरण गर्न प्रहरीले सचेतना अभियान सञ्चालन गरिरहेको छ । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लाका १० वटै स्थानीय तहमा सचेतना अभियान सुरु गरेको छ ।