२४ असार २०८३, बुधबार

सरकार हरेक दृष्टिकोणबाट असफल र असक्षम प्रमाणित : शंकर पोखरेल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनको कारण देश बरबादीतर्फ उन्मुख भएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल बाँकेले सोमबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सरकार हरेक क्षेत्रमा असफल भएको बताउनुभयो । जसको कारण देश अधोगतिमा गएको पोखरेलको भनाइ छ । पोखरेलले अहिलेको जस्तो नालायक र असक्षम सरकार इतिहासमा कहिल्यै पनि नभएको बताउनुभयो । ‘यो सरकार हरेक दृष्टिकोणबाट असफल र असक्षम प्रमाणित भइसकेको छ’, पोखरेलले भन्नुभयो ।

पोखरेलले अहिले देशमा राजनीतिक अस्थिरता र सामाजिक अराजकता मौलाउँदै गएको बताउनुभयो । सरकार सही हिसाबले अघि बढ्न नसक्दा सरकारकै कमजोरीका कारण अतिवादी शक्तिले टाउको उठाउने मौका पाएका उहाँको भनाइ छ । यतिबेला महाशक्ति राष्ट्रहरूले नेपाललाई आधाभूमि बनाएर एसियामा अस्थिरता मच्चाउने प्रयास गरिरहेका पोखरेलले बताउनुभयो । गठबन्धन सरकारको असक्षमताको कारण नेपाल विदेशीको क्रिडास्थल बनेको उहाँको भनाइ छ ।

भारतीय दूतावासलाई २० करोडसम्मका योजना सोझै सञ्चालन गर्ने अधिकार दिएर सरकारले आफ्नो सार्वभौम अधिकार भारतलाई सुम्पिएको उहाँले टिप्पणी गर्नुभयो । सरकारले आफ्नो बजेटरी प्रणाली बाहिर गएर एउटा दूतावासलाई यति ठूला योजना आफूखुसी खर्च गर्न दिनु भनेको सरकारको असक्षमता भएको पोखरेलको भनाइ छ । यो सरकारको निरीहता र असक्षमताको एउटा प्रमाण भएको पोखरेलले बताउनुभयो ।

पोखरेलले अब यो गठबन्धनले देश अघि बढाउनै नसक्ने दाबी गर्नुभयो । गठबन्धन जति लम्मिँदै गयो देश त्यति नै बरबाद हुने उहाँले बताउनुभयो । गठबन्धन संस्कृतिले देश अगाडि बढ्न नसक्ने उहाँले प्रष्ट पार्नुभयो । पोखरेलले एमालेलाई सत्तामा जाने कुनै हतार र लोभ नभएको भए पनि गठबन्धनले देश नै समाप्त पार्ने खतरा बढ्दै गएको बताउनुभयो । एमाले देश र जनताको विकासका लागि चिन्तित भएको भए पनि गठबन्धनको कारण विकासको काम ठप्प हुँदा नागरिकमा निराशा बढेको उहाँको भनाइ छ ।

एमालेले सम्पन्न गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित समृद्धिका लागि संकल्प यात्राले नागरिकमा केही आशा जगाउने काम गरेको पोखरेलले बताउनुभयो । यात्रामा नागरिकले अभूतपूर्व साथ र समर्थन जनाएको उहाँले दाबी गर्नुभयो । सो यात्राबाट मध्यपहाडको समस्या र विकासको सम्भावना मिहिन ढङ्गले बुझ्ने अवसर प्राप्त भएको पोखरेलले बताउनुभयो । त्यसको आधारमा एमालेले मध्यपहाड विकासको खाका तयार गर्ने उहाँले प्रष्ट पार्नुभयो । पोखरेलले एमालेले नागरिकसँगको भेटघाट र अन्तरक्रियालाई निरन्तरता दिने पनि जानकारी दिनुभयो ।  हुलाकी राजमार्गमा पनि समृद्धिको लागि संकल्प यात्राको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।