२६ कार्तिक २०८३, बिहिबार

चिसोका कारण सुनसरीको जनजीवन प्रभावित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इनरुवा (सुनसरी), १ माघ । केही दिनदेखि बढेको चिसोका कारण सुनसरीको जनजीवन प्रभावित भएको छ । सोमबार बिहानदेखि लागेको बाक्लो हुस्सु र चिसो हावाका कारण सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न ठाउँको जनजीवन प्रभावित भएको हो ।

चिसोका कारण इनरुवा, भोक्राहा, कोशी, गढी, दुहबी, रामधुनी, इटहरी, धरान, बराहक्षेत्र, हरिनगर, देवागञ्जलगायत क्षेत्रमा बसोबास गर्ने स्थानीय बढी जोखिममा रहेका स्थानीय चन्दन मेहताले बताउनुभयो । दैनिक रुपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको कोशी गाउँपालिका–६ का भटाई सदाले बताउनुभयो ।

एकचालिस थान कम्बल हस्तान्तरण

केही दिनदेखि बढेको अत्यधिक चिसोबाट जोगाउनका लागि उद्योग वाणिज्य संघ इनरुवाले जिल्ला प्रशासन कार्यालयलाई गए राति ४१ थान कम्बल हस्तान्तरण गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई अतिविपन्न परिवारलाई वितरण गर्न कम्बल हस्तान्तरण गरिएको संघका अध्यक्ष वीरेन्द्रकुमार साहले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका परिवारलाई चिसोबाट बचाउन वाणिज्य संघले २१ थान र नेपाल–भारत मैत्री संघले २० थान कम्बल वितरण गरेका संघका उपाध्यक्ष गिरिजा अटलले बताउनुभयो ।