बागलुङ, २७ जेठ । बागलुङको एक रेष्टुराँले ग्राहकले तिर्ने रकमको पाँच प्रतिशत जम्मा गरी भूकम्पपीडितका लागि राहत सङ्कलन गरेको छ । यसबाट सदरमुकाममा सञ्चालित बेम्बो रेष्टुराँले रु ३० हजार राहत रकम जम्मा गरेको छ ।
भूकम्पपछि रेष्टुराँमा आएका ग्राहकले तिरेको बिलबाट पाँच प्रतिशत रकम छुट्टै जम्मा गरी सो राहत सङ्कलन गरिएको रेष्टुराँ सञ्चालक महेन्द्र थापाले बताउनुभयो । सो रकम मङ्गलबार प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेललगायतको उपस्थितिमा रेष्टुराँले सार्वजनिक गरेको हो ।
“राष्ट्रिय विपद्का बेला सबैले सहयोग गर्नुपर्छ, यो हाम्रो दायित्व हो”, थापाले भन्नुभयो, “विपत्तिको सामना गर्न सबैतिरबाट हातेमालो हुनु आवश्यक छ ।” थापासँगै रामबहादुर खड्काको पनि साझेदारी रहेको रेष्टुराँले उक्त राहत रकम भूकम्पबाट प्रभावित विपन्न परिवारलाई प्रदान गर्ने जनाएको छ । भूकम्पले घरविहीन भएका परिवारलाई अपुग रकमसमेत थप गरेर घर निर्माणमा सघाउन चाहेको अर्का सञ्चालक रामबहादुर खड्काले बताउनुभयो ।
घरबाहेक विद्यालय भवनको पुनर्निर्माणमा समेत सहयोग गर्न सकिने खड्काको भनाइ छ । जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायसँग समन्वय गरेर उक्त राहत रकम भूकम्प प्रभावितसम्म पु¥याउने जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी पौडेलले व्यवसायीद्वयले सराहनीय काम गरेको विचार राख्नुभयो । उहाँले व्यवसायलाई सामाजिक उत्तरदायित्वसँग जोडेकामा दुवैको प्रशंसासमेत गर्नुभयो ।
उक्त राहत रकम व्यवसायीकै इच्छाअनुसार प्रशासनको परामर्श र रोहवरमा भूकम्पपीडितलाई प्रदान गरिने प्रजिअ पौडेलले बताउनुभयो । बागलुङमा गैरसरकारीस्तरबाट राहत वितरण हुनेक्रम तीव्र छ । प्रवासी संस्थादेखि स्थानीय सङ्घसंस्था, उद्योगी, व्यापारी, शिक्षक, विद्यार्थीलेसमेत राहत रकम सङ्कलन र वितरण गरिरहेका छन् । व्यक्तिगत तवरबाट राहत बाँड्नेहरु पनि उत्तिकै छन् ।
सदरमुकामस्थित रुद्रपिपल माध्यमिक विद्यालयका विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर रु आठ हजार जिल्ला दैविप्रकोप उद्दार कोषमा जम्मा गराएका छन् । वैदेशिक रोजगारीमा विभिन्न मुलुकमा रहेका बागलुङेहरुले पनि जिल्लाका भूकम्पपीडितका लागि राहत बाँड्ने क्रम जारी छ । बागलुङमा भूकम्पबाट कुनै मानवीय क्षति नभए पनि एक हजार ५०० भन्दा बढी घर क्षतिग्रस्त भएका छन् । रासस















प्रतिक्रिया