१७ कार्तिक २०८३, मंगलबार

भारतीय प्रधानमन्त्री मोदीलाई निम्ता दिएर नेपाल ल्याउन अर्थमन्त्री भारत प्रस्थान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram-Sharan-Mahatकाठमाडौँ, २७ जेठ । अर्थमन्त्री डा रामशरण महत भारतको तीनदिने भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । भारतका वित्तमन्त्री अरुण जेट्लीको निमन्त्रणामा उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा घोषणा भएको सहयोग रकमको उपयोग तथा कार्यान्वयनका सम्बन्धमा दुई पक्षबीच छलफल हुने अर्थ मन्त्रालयले जनाएको छ ।

सो अवसरमा नेपालीको बैंक खाता सञ्चालन, भारु ५०० तथा १००० का नोटसम्बन्धी विषय, भारतमा नेपाली उत्पादनले व्यहोर्दै आएको समीकारक महसुल (काउन्टरभेलिङ ड्युटी), नेपालमा भारतको लगानी तथा दुई पक्षीय व्यापार विस्तारका बारेमा छलफल हुनेछ ।

अर्थमन्त्री तथा नेपाली प्रतिनिधिमण्डलका नेता डा महतले भोलि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटी भूकम्पपछिको नेपाल सहायता सम्मेलनका लागि प्रधानमन्त्री सुशील कोइरालाको तर्फबाट निमन्त्रणा हस्तान्तरण गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रीका प्रेस सल्लाहकार गजेन्द्र विष्टले जानकारी दिनुभयो ।

सहायता सम्मेलन आगामी असार १० गते काठमाडौँमा आयोजना हुने तय भइसकेको छ । अर्थमन्त्री डा महत उक्त सहायता सम्मेलनको संयोजक पनि हुनुहुन्छ ।

अर्थमन्त्री डा महतको नेतृत्वमा भारत भ्रमणमा रहेको प्रतिनिधिमण्डलमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारी र अर्थ मन्त्रालयका उपसचिव युगराज पाण्डे सहभागी हुनुहुन्छ । उहाँ शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ । रासस