सिन्धुपाल्चोक (ज्यामिरे), २७ बैशाख । उद्योगमन्त्री महेश बस्नेतले एक महिनाभित्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुने दाबी गर्नुभएको छ ।
‘राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्ने पालो एमालेकै हो । पार्टी अध्यक्ष केपी ओली नै त्यसको पहिलो दाबेदार हुनुहुन्छ । देशको पुर्ननिर्माणको आरम्भ ओली नेतृत्व सरकारबाट मात्र सम्भव छ’– उहाँले भन्नुभयो ।
यसैबीच, उद्योगमन्त्री महेश बस्नेतले सिन्धुपाल्चोक जिल्लाको ज्यामिरेस्थित जनता माविलाई जस्तापाताद्वारा निर्मित शिक्षण कोठा हस्तान्तरण गर्नुभएको छ ।
एमालेको राष्ट्रिय स्वयम्सेवक परिचालन अभियान अन्तर्गत युवा संघ नेपालको टोली नं. १ सिन्धुपाल्चोक क्षेत्र नं. ३ ले निर्माण गरेका उक्त कक्षा कोठाहरू उहाँले हस्तान्तरण गर्नुभएको हो ।
मन्त्री बस्नेतले भूकम्पको कहालिलाग्दो क्षण बिर्सेर अब भग्नावषेशबाट उठ्न जरुरी रहेको बताउनुभयो । उहाँले आत्म स्वभिमानी हुन आग्रह गदैँ –‘हामी परनिर्भर नबनौँ । तत्तकाल बस्न हुने घर तथा विद्यालय बनाउन हामी स्थानीय स्रोत साधनको प्रयोग गरौँ । यो समय राष्ट्रिको पुर्ननिर्माणको हो’ भन्नुभयो ।
युवा संघ नेपालको टोली नं. १ सिन्धुपाल्चोक क्षेत्र नं. ३ का इन्चार्ज तथा युवा संघका महासचिव राजिव पहारीले सिन्धुपाल्चोक जिल्लामा नौ वटा विद्यालय कोठा निर्माण गरी हस्तान्तरण गरिएको जानकारी दिनुभयो । उहाँले यस अभियान अन्तगरगत युवा संघले ९० वटा भग्नावशेष हटाएको उल्लेख गर्नुभयो ।
युवा संघ नेपालले मेलम्ची नदीको किनारमा बेस क्याप खडागरी दुई सय बढी युवाको एक महिने श्रमदान अभियान अन्तरगत सिन्धुपाल्चोक जिल्लामा राहत, उद्धारसँगै विद्यालय भवन निर्माण अभियान सञ्चालन गदैँ आएको इन्चार्ज तथा महासचिव पहारीले जानकारी दिनुभयो ।
साथै, कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष निरुदेवी पालले विद्यालयको अस्थायी कोठा निर्माणका लागि त्रिपाल हस्तान्तरण गर्नुभएको थियो । क्यूवाबाट आउनुभएका कम्यूनिष्ट पार्टीका युवा नेता जेसस मोर्राले व्यक्तिगतरुपमा पचास हजार रुपियाँ र बंगलादेश युथ युनियनका अध्यक्ष अब्दुल्ला अफकफले दशहजार रुपियाँ प्रदान गर्नुभएको थियो ।
साथै, कार्यक्रममा भारत, श्रीलंका, बंगलादेश, क्यूवाबाट कम्यूनिष्ट पार्टीका युवा नेताहरुको उपस्थिति रहेको थियो ।
















प्रतिक्रिया