
काठमाडौं, १९ पुस । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गठबन्धनमा रहेका दलहरूलाई विभिन्न काण्डबाट बच्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को साथ चाहिएको टिप्प्णी गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई पनि सिट दिएर जानुपर्ने प्रस्ताव राखेपछि कोइरालाले यस्तो टिप्पणी गरेका हुन् ।
उनले कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा गठबन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरू अहिले एमालेसँग मिल्न थालेको आरोप लगाएका छन् ।
बिहीबार सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा लेख्दै नेता कोइलाराले भनेका छन्, ‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरु नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन् । कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले ?’
हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठवन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरु नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन् । कारण स्पष्ट छः सत्ता गठवन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले ?
— Dr Shekhar Koirala (@Shekharnc) January 4, 2024
नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड संक्रमणकालीन न्याय सम्बन्धी कानुन सहमतिमै पारित गर्ने सर्तमा सत्ता पक्ष र एमालेबीच राष्ट्रिय सभा निर्वाचनमा भागबन्डा गर्ने तयारीमा छन् । यसका लागि आज गठबन्धनको बैठक बस्दैछ । बैठकमा राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटको छलफल र भागबन्डाको टुंगो लगाउने तयारी रहेको बताइएको छ ।











प्रतिक्रिया