काठमाडौँ, २६ जेठ । प्रमुख चार दलबीच भएको सोह्रबुँदे ऐतिहासिक सहमतिको नेपाली काँग्रेस र नेकपा (एमाले)को संसदीय दलको छुट्टाछुट्टै बैठकले स्वागत गर्दै यथाशीघ्र संविधान निर्माणमा जोड दिएका छन् ।
संविधानसभा भवनमा संसदीय दलका नेता एवम् प्रधानमन्त्री सुशील कोइरालाको सभापतित्वमा आज भएको काँग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्री कोइरालाले सोमबार राति चार दलबीच भएको सोह्रबुँदे सहमतिको बारेमा जानकारी गराउनुभएको थियो ।
बैठकले संविधान निर्माणका सम्बन्धमा भएको सो सहमतिका बारेमा छलफल गरी उक्त सहमतिलाई सर्वसम्मतिबाट अनुमोदन गर्ने निर्णय गरेको मुख्य सचेतक चीनकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
आजै संविधानसभा भवनमा भएको एमाले संसदीय दलको बैठकले पनि सोह्रबुँदे सहमतिको स्वागत तथा समर्थन गर्दै सहमतिअनुरुप सङ्क्षिप्त प्रक्रियामार्फत संविधानसभाबाट संविधान जारी गर्न आह्वान गरेको प्रमुख सचेतक अग्नि खरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकले भूकम्पपीडित जनतालाई यथाशीघ्र उचित राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेको विज्ञप्तिमा जनाइएको छ । साथै यथाशीघ्र संविधान जारी गर्न र भूकम्पबाट भएको क्षतिको नवनिर्माणका लागि राष्ट्रिय सहमतिको सरकार निर्माण गरी क्रियाशील रहन सबै दललाई आग्रह गरेको छ ।
सहमतिको विरोधमा को-को ?
साना तथा केही मधेस केन्द्रित राजनीतिक दल र त्यससँग अबद्ध मोर्चाले संविधान लेखनका सन्दर्भमा प्रमुख चार शक्तिबीच सोमबार भएको १६ बुँदे सहमतिको विरोध गरेका छन् ।
संविधानसभामा प्रनिनिधित्व गर्ने साना पाँच राजनीतिक दल र त्यससँग अबद्ध मोर्चाले उक्त सहमतिप्रति आपत्ति प्रकट गर्दै त्यसलाई अस्वीकार गर्ने घोषणा गरेका हुन् ।
एनेकपा (माओवादी) र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले सरकार परिवर्तन र निर्माणको खेलमा लगेर पहिचानसहितको सङ्घीयता मुद्दा छोडी आत्मसर्मपण गरेको गठबन्धनको आरोप छ ।
उक्त गठबन्धनको आज सिहदरबारमा बसेको बैठकपछि गठबन्धनका तर्फबाट तराई मेधस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा प्रमुख चार शक्तिबीच भएको १६ बुँदे सहमतिले संविधानको भावना उल्लङ्घन गर्नुका साथै संविधानसभाको अधिकार क्षेत्रलाई कटौती गरेको उल्लेख गरिएको छ ।
सीमाङ्कन र नामाकरणबिनाको सङ्घीयताका विषयमा गरिएको सहमतिले लोकतान्त्रिक गणतन्त्र नेपालको चाहनालाई ओझेलमा पारेको विज्ञप्तिमा उल्लेख गरिएको छ । गठबन्धनले आजको बैठकमा १७ वटा राजनीतिक दलको सहभागिता र समर्थन रहेको दाबी गरेको छ ।
संविधानसभाको अबमूल्यन: थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधान लेखनलाई अघि बढाउने क्रममा प्रमुख चार दलको मात्र निर्णय लाद्न खोज्दा अन्य दलका ‘एजेण्डा’ ओझेलमा परेको बताउनुभएको छ ।
संविधानसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उहाँले संविधानसभालाई पूर्णरुपमा उपेक्षा गरेर केही राजनीतिक दलले बाहिर गरेका निर्णयलाई लाद्न खोज्नु भनेको संविधानसभाको अबमूल्यन हो भन्नुभयो ।
मुलुकका जिम्मेवार राजनीतिक दलबाट यस किसिमको निर्णय हुनुले खासगरेर आम मतदाताको अपमान भएको पार्टीले ठहर गरेको बताउँदै अध्यक्ष थापाले समग्र मुलुक र जनताको हकअधिकारको पक्षमा राप्रपा नेपालले लोकतान्त्रिक ढङ्गले सधैँ आवाज उठाइरहने जानकारी दिनुभयो । रासस













प्रतिक्रिया