
मकवानपुर, १५ पुस । ललितपुरको बालकुमारीमा भएको घटनाको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले हस्ताक्षर संकलन अभियान चलाएको छ ।
शुक्रबार काठमाडौंको बालकुमारीमा कोरियन भाषा परीक्षाको आवेदन दिन नपाएका युवाहरुले गरेको विरोध प्रर्दशनको क्रममा प्रहरीको गोली लागेर दुईजना युवाको मृत्यु भएको थियो । घटनाको विरोध गर्दै रास्वपा मकवानपुरले हेटौंडास्थित पार्टी कार्यालय परिसरमा हस्ताक्षर संकलन अभियानको सुरुवात गरेको हो ।
मृतक दुई युवाको न्यायमा समर्थन जनाउँदै सरकारलाई दवाव दिन साथै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै हस्ताक्षर संकलन गरिएको जिल्ला पार्टी साभापति भरत पराजुलीले बताए । सोमबारसम्म चल्ने अभियानमा हालसम्म चार हजार हस्ताक्षर संकलन भइसकेको र तीस हजार हस्ताक्षर संकलन गर्ने उद्देश्य रहेको पराजुलीले बताए ।

संकलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाइने उनको भनाइ छ ।
पार्टीले शनिबार सोही घटनाको विरोधमा हेटौंडाको बुद्ध चोकमा विरोध र्याली निकालेको थियो ।
रास्वपा बागमती प्रदेश र्याट नेपालका संयोजक महेन्द्र श्रेष्ठले यो देशमा केही गर्छु भन्ने वातावरण नभए पछि वैदेशिक रोजगारमा जान बाध्य भएका अबोध युवामाथि सरकारले गोली चलाएर मारेको आरोप लगाएका छन् । पीडितले न्यायोचित क्षेतीपूर्तिको मागसहित गठबन्धन सरकारलाई दवाव दिन पार्टीले हस्ताक्षर अभियानको चलाएको श्रेष्ठले बताए ।











प्रतिक्रिया