
काठमाडौं, १५ पुस । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले देशको आर्थिक वृद्धिदर निराशाजनक रहेको बताएका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटको सलमपाखा बचत तथा ऋण सहकारी संस्थाको ११औँ वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै बस्नेतले अहिले देशले ठूलो आर्थिकमन्दी बेहोरिरहेको बताए । नेपालको अहिलेको आर्थिक मन्दीको कारण बाह्य कारण भन्दा पनि सरकारको आन्तरिक कारण नै भएको उनको भनाइ छ ।
यो अढाई वर्षको बीचमा देशको मूल्य वृद्धि चार गुनाले बढेको उनले बताए । यसलाई नियन्त्रण गर्ने तर्फ सरकारले धान नदिएको बस्नेतले टिप्पणी गरे । भ्रष्ट कर्मचारीलाई मात्र कारबाही गर्न सकेको भए पनि देशको औपचारिक राजश्व बढ्ने उनको धारणा छ । त्यस तर्फ पनि राज्यले ध्यान नदिएको उनले गुनासो गरे ।
देशमा चोर, तस्करी भ्रष्टाचारी मौलाउँदै गएको बस्नेतले बताए । ‘अझ गम्भीर आरोप त के छ भने ठूला ठूला नेताहरू नै त्यसमा संलग्न छन्, यिनीहरूलाई कारबाही गर्छ कि सरकारले भन्दा कारबाही गर्छु भनेर गफ चाहिँ गर्छ, तर कारबाही गर्दैन, किनभने कारबाही गर्न प्रमाण बटुल्दै बटुल्दै गयो आफ्नै मान्छे पर्छ, कारबाही गर्नुभएन, अब ब्याक हुने भनेर ब्याक हुन्छ’, बस्नेतले भने ।
अर्थतन्त्र संकटमा परेपछि घरजग्गाको कारोबार रोकिएको उनले बताए । सहरीकरणको काम ठप्प रहेको बस्नेतले बताए । पैसा जति धेरै चल्यो त्यति नै अर्थतन्त्र चलायमान हुनेमा अहिले पैसा रोकिएर बसेको उनले बताए । अहिले विकासको काम ठप्प भएको बस्नेतले बताए । ‘अहिले विकास भनेका स्यालको सिङ जस्तै भएको छ, फाट्टफुट्ट एउटा दुईटा विकासको काम भएको छ’, बस्नेतले भने ।
आज रवि लामिछाने र जेबी राईको कारण देशभरिका सहकारीमा कालो भूत सवार भएको उनले बताए । उनीहरूले सहकारीमा गरेको बेमानीको कारण देशभरिका सहकारीप्रतिको विश्वसनीयता घटेको बस्नेतको भनाइ छ ।
देशको परिस्थिति गम्भीर ढंगले अघि बढेको बस्नेतले बताए । जालझेल गरेर गलत मान्छेले मुलुक कब्जा गरेको कारण अढाई वर्षदेखि देश डामाडोल बनेको उनले प्रष्ट पारे ।











प्रतिक्रिया