
सल्यान, १५ पुस । सल्यानको छत्रेश्वरी गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी)को वडा कमिटी नै नेकपा (एमाले)मा समाहित भएको ।
शनिबार छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ को समाजवादीका वडा कमिटी अध्यक्ष लेखबहादुर चन्द, सचिव मिना मल्ल लगाएत २६ जना नेता कार्यकर्ता एमालेमा समाहित भएका हुन् । एमाले सल्यान जिल्ला कमिटी सचिव ओजबहादुर बुढाथोकी लगाएतका नेताहरुले उनीहरुलाई पार्टीमा स्वागत गरेको एमाले छत्रेश्वरी गाउँपालिका कमिटीका अध्यक्ष ज्ञानबहादुर खड्काले जानकारी दिए ।
समाजवादीको कुनै औचित्य नभएको र देशको सच्चा शक्ति एमाले नै भएको भन्दै एउटै वडाबाट समाजवादीका २६ जना नेता कार्यकर्ता पुरानै पार्टीमा फर्किएको एमाले छत्रेश्वरीले जनाएको छ । सो अवसरमा बोल्दै एमालेमा समाहित भएका लेखबहादुर चन्द र मिना मल्लले आफूहरु पहिले देखि नै एमालेमा फर्किन आतुर रहेको उल्लेख गर्दै अब एकजुट भएर पार्टीलाई मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए ।
पार्टीमा स्वागत गर्दै एमाले सल्यानका सचिव ओजबहादुर बुढाथोकीले भरपर्दो पार्टी एमाले मात्रै भएको जनाउँदै एमालेको नेतृत्वमा मात्रै विकास, समृद्धि र सुशासन प्राप्त गर्न सकिने बताएका थिए । उनले पार्टीका सबै नेता कार्यकर्ताले उचित जिम्मेवारी पाउने भन्दै एमालेलाई बलियो बनाएमा मात्रै विकाससँगै नागरिकमा आशा, भरोसा, उत्साह र विश्वास जागृत हुने बताए ।
एमाले छत्रेश्वरी-१ को वडा कमिटी बैठकमा पार्टीका गतिविधि समिक्षासँगै स्वागत कार्यक्रम र आगामी कार्यदिशाको बारेमा छलफल भएको वडा कमिटी अध्यक्ष कालिबहादुर चन्दले बताए । कार्यक्रममा जिल्ला कमिटी सदस्यहरु फौदबहादुर बस्नेत, खडग शाही, देवबहादुर घर्ती, अमृता चन्द, गाउँपालिका कमिटी अध्यक्ष ज्ञानबहादुर खड्का, सचिव एकराज थापा लगाएतले बोलेका थिए ।











प्रतिक्रिया