२६ कार्तिक २०८३, बिहिबार

सातै प्रदेशका मुख्यमन्त्रीहरु काठमाडौंमा, प्रधानमन्त्रीसँग भेट गर्दै

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । सातै प्रदेशका मुख्यमन्त्रीहरू संघीय राजधानी काठमाडौं आइपुगेका छन् ।

उनीहरू शुक्रबार साँझ बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं आइपुगेका हुन् । शुक्रबार हेटौंडामा मुख्यमन्त्रीहरुको बैठक बसेको थियो । बैठकले नौ बुँदे साझापत्र तयार गरी प्रधानमन्त्री समक्ष पेश गर्ने निर्णय गरेको थियो । सोही अनुरुप मुख्यमन्त्रीहरु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्न काठमाडौं आइपुगेका हुन् । उनीहरूले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नेछन् ।

मुख्यमन्त्रीहरुको बैठकले तीनै तहको सरकारलाई प्रभावकारी बनाउन संविधान निर्माणमा संलग्न प्रमुख दलहरुबीच साझा धारणा बनाउनुपर्ने निष्कर्ष निकालेको थियो । यसका लागि नियमित छलफल गर्ने संयन्त्र विकास गरी राष्ट्रिय सहमति सहितको साझा धारणा निर्माणमा पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।

बैठकमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, कर्णालीका राजकुमार शर्मा, लुम्बिनीका डिल्लीबहादुर चौधरी, गण्डकीका सुरेन्द्रराज पाण्डे, बागमतीका शालिकराम जम्कट्टेल, मधेशका सरोजकुमार यादव र कोशी प्रदेशका केदार कार्कीको सहभागीता रहेको थियो ।

सात प्रदेशका मुख्यमन्त्रीको गत असार १६ गते पोखरामा बसेको राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकका निर्णय शीघ्र कार्यान्वयन गर्न आग्रहसमेत गरिएको छ ।