२६ कार्तिक २०८३, बिहिबार

केपी ओली सर्वस्वीकार्य राजनेता : राजेन्द्र गौतम

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । नेकपा एमाले स्थायी कमिटी सदस्य राजेन्द्रप्रसाद गौतमले एमालेलाई राष्ट्रिय सफल र सुदृढ शक्तिको रूपमा अघि बढाउनु पर्ने बताएका छन् ।

बिहीबार राष्ट्रिय युवा संघ नेपाल सङ्खुवासभाको नवौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै गौतमले पार्टीले अघि बढाएको मिसन २०८४ मूल एजेण्डा पूरा गर्ने गरी लाग्नु पर्ने बताए । ‘नेकपा एमालेको नेतृत्वमा बहुमत प्राप्त सरकार निर्माण गरेर मात्रै मुलुकको स्थायित्व, शान्ति, अग्रगमन सम्भव छ भन्ने कुरा तथ्यले प्रमाणित गरेको छ’, उनले भने ।

अहिले मुलुकमा रहेको पाँच गठबन्धनको सरकारले मुलुकमा शान्ति, स्थायित्व, अग्रगमन र सुशासन दिन नसकेको गौतमले बताए । भ्रष्टाचार नियन्त्रणको नाममा एमालेको विरुद्ध डंका पिट्ने प्रयासमा लगेको गठबन्धन आफ्नै नेताहरू धमाधम पर्न लागेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दश कदम पछि हटेको गौतमले टिप्पणी गरे ।

आफ्नो छोरीप्रतिको जनताको आक्रोश र टिप्पणीलाई प्रचण्डले गणतन्त्रमाथिको टिप्पणी ठान्न थालेको उनले बताए । यो विडम्बनापूर्ण स्थिति रहेको उनको भनाइ छ ।

अहिले देशको आर्थिक स्थिति ओरालो लागेको उनले बताए । ऋण खोजेर कर्मचारीलाई तलब खुवाउनु पर्ने स्थिति भएको उनको भनाइ छ । बजेट नभएर विकास निर्माणका काम ठप्प भएको गौतमले बताए ।

एमालेको नेतृत्वमा भर्खरै मध्यपहाडी पुष्पलाल लोकमार्गको यात्रा गर्दा जनताको विकास र समृद्धिको अपेक्षा भए पनि काहीँ पनि विकास र समृद्धिले गति नपाएको उनले बताए । अहिले नेकपा एमाले सत्तामा नहुँदा पनि जनताको अपेक्षा नेकपा एमालेसँगै भएको उनले दाबी गरे । ‘केपी ओली जता जता जनताको शक्ति त्यतै त्यतै छ, हाम्रो पार्टीको अध्यक्ष नेपाल राष्ट्रको सर्वस्वीकार्य राजनेताको रूपमा स्थापित भएको हामीलाई अनुभूति भएको छ’, उनले भने ।

अभियानको क्रममा सर्वदलीय बैठक गरेर अध्यक्ष केपी ओलीलाई विकास र समृद्धिको लागि ध्यानाकर्षण गराएको उनले स्मरण गराए । नागरिकले यो सरकार असफल भएकोले सकिन्छ भने सरकार परिवर्तनको प्रयास गर्न समेत आग्रह गरेका उनले सुनाए ।

अहिले यसको विकल्प छ त भनेर धेरैले सोधिरहेका बताउँदै गौतमले त्यसको विकल्प भएको बताए । तर कांग्रेसले माओवादीलाई समातेर हिँड्दासम्म त्यो विकल्प नखुल्ने उनले सुनाए ।

एमालेमा यति ठुलो जनलहर र समर्थन हुँदा हुँदै पनि गठबन्धन संस्कृतिको कारण एमालेको सरकार बन्न नसकेको गौतमले बताए ।

सामान्य संसदीय नम्स अनुसार पनि सबैभन्दा ठुलो दलले सरकार बनाउनु पर्नेमा तेस्रो दलले अहिले सरकार चलाइरहेको उनले टिप्पणी गरे । ‘प्रचण्डको रोड म्यापमा जति दिनसम्म नेपाली कांग्रेस हिँडिरहन्छ, त्यति बेलासम्म अराजकता र अस्थिरता कायम हुन्छ, विकास निर्माण ठप्प हुन्छ’, गौतमले भने ।