
मकवानपुर, १२ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का महासचिव एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले काठमाडौं–तराई जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक)को अवलोकन गरेका छन् ।
बुधबार एमाले मकवानपुरको जिल्ला कमिटीको बैठक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरेर आज बिहीबार कान्तिलोकपथ सडक हुँदै काठमाडौं फर्कने क्रममा महासचिव पोखरेलले निर्माणधीन फास्ट ट्रयाकको अवलोकन गरेका हुन् ।

महासचिव पोखरेलले फास्ट ट्रयाक अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-८ महादेवटार स्थित फास्ट ट्रयाकको सुरूङ निर्माण स्थलको अवलोकन गर्नुको साथै निर्माणमा खटिएका नेपाली सेनाको टोली तथा ईन्जिनियरसँग फास्ट ट्रयाकको बारेमा जानकारी लिएको एमाले मकवानपुरका नेता नारायणप्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार महासचिव पोखरेलले निर्माणको म्याद थप भएको फास्ट ट्रयाक समयमै निर्माण सम्पन्न हुने आधारहरु र अहिलेको समस्याबारे जानकारी लिएका थिए । विसं २०८१ सम्म निर्माण सम्पन्न हुने भनिएको फास्ट ट्रयाक ०८३ सम्मका लागि म्याद थप भएको छ ।

सेनाको टोलीले फास्ट ट्रयाक निर्माणमा रुख कटानको समस्या रहेको बताएका थिए । महासचिव पोखरेलले एमाले नेतृत्वको सरकारले काठमाडौं–तराई जोड्ने वैकल्पिक सडक फास्ट ट्रयाक निर्माणलाई प्राथमिकता दिएको पनि स्मरण गराएका थिए । उनले फास्ट ट्रयाक निर्माण कार्यलाई समयमा सम्पन्न गर्न यहाँको समस्यालाई सरकारको ध्यानाकर्षण गराउने बताएका थिए ।
यसअघि महासचिव पोखरेलले मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२ स्थित एतिहासिक मकवानपुरगढी दरबारको पनि अवलोकन गरेका थिए ।













प्रतिक्रिया