
काठमाडौं, ११ पुस । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले एमाले सरकारबाट हटेपछि विकास निर्माणका अधिकांश योजना अलपत्र परेको बताएका छन् ।
बुधबार बिहान भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुको घ्याम्पेडाँडा खानेपानी ट्याङ्की निर्माणको शिलान्यास गर्दै बस्नेतले एमाले सरकारले सुरु गरेका सबै योजनाको सरकारले बजेट कटौती गरेको बताएका हुन् ।
सरकार परिवर्तन भएका कारण भइरहेका योजनाको काममा पनि ढिलाइ भएको भन्दै उनले आलोचना गरे। ‘यो सरकार लाचार छ, यसको काम गर्ने दक्षता छैन, सरकाले योजना कार्यान्वयन गर्न सकेको छैन, निर्माण व्यवसायीलाई काम गरेको रकम भुक्तानी गर्न सकेको छैन’, बस्नेतले भने ।
विकास, समृद्धि, राष्ट्रिय एकता, जनता बिच सद्भाव, धार्मिक सहिष्णुता एमालेको संकल्प भएको र चुनावको हार जितले पार्टीलाई कुनै असर नपर्ने बस्नेतले बताए।
एमालेले बोकेको संकल्प, विचार र कार्यक्रम सही भएकोले कुनै बेला हारे पनि एमालेको जीत सुनिश्चित भएको बस्नेतले दाबी गरे । एमाले विरुद्ध फिँजाएको भ्रम अब चिरिसकिएकोले कसैले भ्रम फिँजाउन आउने आँट नगर्ने उनको भनाइ छ।















प्रतिक्रिया