१० कार्तिक २०८३, मंगलबार

सबै संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री प्रचण्ड

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । नेवार समुदायले ज्यापु दिवस तथा योमरी पूणिर्मा मनाएका छन् । मंगलबार बसन्तपुर क्षेत्रमा नेवार समुदायले य:मरीसहित नगर परिक्रमा गरेका हुन । हरेक वर्ष धान्य पूर्णिमाको दिनमा नेवार समुदायले य:मरि पुन्हि मनाउने गर्छन् । नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बीउ हो। निरन्तर खेती किसानीमा संलग्न हुने मेहनती र पौरखको रित र परम्परा नै ज्यापु संस्कृति हो। उनीहरु परम्परागत भेषभूषामा सजिएका थिए । आजको दिन धान, गणेश, कूलदेवता, गोठदेवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी योमरी, सेल, बाबर, पुरी मालपुवा आदि परिकार बनाएर चढाउने परम्परा छ ।

ज्यापु संस्कृति विकास कोषले हरेक वर्ष ज्यापु दिवसमा यस्तै कार्यक्रम गर्दै आएको छ । २०औँ राष्ट्रिय ज्यापू दिवसका अवसरमा मंगलबार काठमाडौंको बसन्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै संस्कृतिको संरक्षण गर्नका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सांस्कृतिक सम्पदाको धनी नेपालमा धार्मिक र सांस्कृतिक रूपमा परम्परादेखि नै विभिन्न चाडपर्व, जात्रा एवं संस्कारहरू चल्दै आएकाले ऐतिहासिक एवं सांस्कृतिक सम्पदाहरूको संरक्षण गरी आफ्नो परम्परालाई जीवन्त राख्न र विकासको नयाँ अवधारणासँग अनुकूलित तुल्याउनु राष्ट्रको दायित्व भएको भन्दै सरकार भौतिक तथा अभौतिक संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्न प्रतिबद्ध रहेको बताएका हुन् । उनले विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहहरूको परम्परागत मौलिक सांस्कृतिक पहिचान नै नेपालीको पहिचान र गौरव भएको र तिनको जगेर्ना गर्नु सबैको जिम्मेवारी भएको धारणा राखे ।

प्रधानमन्त्री प्रचण्डले नेपाल जातीय, भाषिक, धार्मिक सांस्कृतिक विविधताले सम्पन्न भएको बताउँदै उनले हरेक समुदायले संस्कृतिलाई जीवनको अभिन्न अंगको रूपमा लिइआएको बताए । उनले आफू पहिलोपटक प्रधानमन्त्री बन्दा नेपाल संवतलाई राष्ट्रिय संवतका रूपमा मनाउने निर्णय गरेको भन्दै काठमाडौंका ज्यापुहरूले आफ्नो परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नका लागि थालेका प्रयासलाई सरकारले कदर गर्दै आएको उल्लेख गरे ।

ज्यापु दिवसका अवसरमा विभन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई सम्मान समेत गरिएको थियो । नेवारी समुदायको समेत मूल संस्कृतिको रूपमा रहेको यसको संरक्षणका लागि सरकारले ज्यापु दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिई यस दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा समेत दिइएको छ ।