
काठमाडौं, ८ पुस । नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपालको राजनीतिको सेलिब्रेटी भएको बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै रिमालले कसैले माने पनि नमाने पनि उनी नेपालको राजनीतिक सेलिब्रेटी भएको बताए । ‘केपी ओली एक्लै उभिँदाखेरि त्यतिकै मान्छे ओइरिन्छन्, उहाँमा त्यस किसिमको क्रेज छ, त्यसमा कसैले डाहा गरेर रिस गरेर भएन’, रिमालले भने ।
अध्यक्ष ओली असाध्य लोकप्रिय र सबैले मन पराउने नेता भएको रिमालले दाबी गरे । ओलीको विचार, व्यवहार र कुरा सबैले मन पराउने उनको भनाइ छ । त्यो क्रम एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिको लागि संकल्प यात्रामा पनि देखिएको उनले बताए । ‘साना केटाकेटीदेखि पाका मानिसहरूसम्म केपी ओलीलाई हेर्न भनेर आए नि, छुन भनेर आए नि’, उनले भने ।
यात्राको क्रममा धादिङमा बाटो बिराएर पार्टी अध्यक्ष अर्कै बाटो लाग्दा उनलाई माला लगाउन बाटोमा बसेका मानिसहरूले अरू कुनै पनि नेतालाई त्यो माला नलगाएर उनलाई नै लगाउने भनि घरै लिएर फर्किएको घटना रिमालले सुनाए । त्यो भनेका उनीप्रतिको अगाध माया र विशेष खालको आकर्षण भएको रिमालले बताए । ‘यसलाई मानिसहरूले स्विकार्नुको विकल्प छैन, जसले मन पराउँदैन त्यसले पनि केपी ओलीसँग फोटो खिच्न चाहन्छ, जसले मन पराउँछ ऊ त हुरुक्कै हुन्छ, केपी ओली त्यही नै हो’, उपमहासचिव रिमालले भने ।
रिमालले अध्यक्ष ओली ‘केपी बा’को ब्राण्ड नै बनिसकेको पनि बताए । ‘नभन्नुस् भनेर के गर्नुहुन्छ तपाईँले ? जसरी कम्युनिष्ट कार्यकर्ताले आफ्नो साथीलाई कमरेड भन्छन्, ठिक त्यसै गरी हाम्रो पार्टीको अध्यक्षलाई सबैले बा भन्छन्, कसैले डाहा गरेर भयो र, उहाँको निकनेम नै केपी बा भयो, बा भनेको फादर भनेको होइन, बा भनेको उहाँको पद नै बन्यो, माया गरेको, सम्मान गरेको उच्चतम पद हो, उच्चतम सम्मान बा भनेर केपी ओलीलाई जनताले सम्मान दिने गरेका छन्, अरूले त्यसमा ईष्या गर्नुपर्ने, कुरा काट्नु पर्ने, त्यसको कारण म देख्दै देख्दिन’, उनले भने ।
एमालेको अभियानमा घोडामा आएका बालकले कपी बालाई भेट्न हिँडेको भनि भनेको प्रसङ्ग पनि रिमालले सुनाए । कतिपय विद्यालयका बालबालिका स्तस्फुर्त रूपमा उनलाई नै भेट्न आएका बताउँदै रिमालले कतिपयले एमालेले बालबालिकाको दुरुपयोग गर्यो भनि हल्ला समेत फिँजाएको बताए । उनीहरू कसैले ल्याएको वा बोलाएको नभई केपी ओलीलाई भेट्न र छुनको लागि आएका उपमहासचिव रिमालले बताए ।
विद्यार्थीहरूलाई कुनै पनि राजनीतिक दलका नेता जाँदा भेट्न र कुरा गर्न दिनुपर्ने उनको धारणा छ । यसले उनीहरूले राजनीति बुझ्ने र नेतालाई चिन्ने अवसर पाउने रिमालले बताए । केपी ओली बाहेक अरूलाई विद्यार्थीले भेट्न नै नचाहने भएकोले अरूले डाहा र निन्दा गर्ने गरेको उपमहासचिव रिमालको भनाइ छ ।











प्रतिक्रिया