१ कार्तिक २०८३, आइतबार

शिक्षा क्षेत्रमा कालिकाको देशमै महत्वपूर्ण पहिचान : विष्णु पौडेल

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ८ पुस । पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवलको कालिका मानवज्ञान माविले शिक्षा क्षेत्रको गहनाका रुपमा देशमै महत्वपूर्ण पहिचान बनाएको बताएका छन् ।

कालिका मानवज्ञान माविको ६३औं वार्षिकोत्सव तथा अभिभावक दिवसको शनिबार उद्घाटन गर्दै उनले विद्यालयले शिक्षा क्षेत्रको गहनाका रुपमा देशमै महत्वपूर्ण पहिचान बनाएको बताएका हुन् । ‘कालिका शैक्षिक सफलताबाट देशमा नै उचाईमा पुगेको छ’ उनले भने । संख्यात्मक र गुणात्मक दुवैमा विद्यालयले फड्को मार्न सफल भएको उनले दाबी गरे ।

विद्यालयमा भर्नामा आकर्षण हेर्दा यहाँको क्षमता थेग्न नसकेको अवस्था छ । आगामी भौतिक र दक्ष व्यवस्थापन अघि बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए । विगतका यात्रालाई सम्झने र नयाँ बाटो कोर्ने पाटाका रुपमा वार्षिकोत्सव दिवस हुने गरेको उनले बताए ।

कालिका मावि २०७१ सालदेखि प्राविधिक विषयमा नेपाल प्रथम हासिल गरेको हुँदा यो गुम्न नदिने चुनौती सधैभरि रहने उनले बताए । सधैभरि प्रथम हुने गरी अठोटमा विद्यालय परिवार लाग्नुपर्ने पौडेलले सुझाव दिए । विद्यालय परिसरमा राखिएको विद्यार्थीहरुमा अनुसन्धानको क्षेत्रमा निक्कै उत्कृष्ट रहेको उनले बताए । विद्यालयलाई आवश्यक सहयोगमा स्थानीय पालिकाबाट समेत निरन्तर सहयोग गर्न उनले आग्रह गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरी, मध्यपश्चिम पृतनाका पृतनापति उपरथि यमप्रसाद ढकाल, बुटवल उपमहानगरपालिका वडा नं. १० का वडाअध्यक्ष बल बहादुर पुन, पूर्वअध्यक्ष होमबहादुर गलामी, वडा नं. ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख माधव प्रसाद बन्जाडे, बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनस्वस्थ्य शाखाका अधिकृत कोपिला ज्ञवाली, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले अन्य सामुदायिक विद्यालय पनि कालिकाको विकासलाई अनुसरण गरेर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले शैक्षिक विकासको पाटोबाट उत्कर्षमा पुगेको बताए । कालिकामा ८ हजार ५३ जना विद्यार्थीहरु अध्ययन गर्ने देशकै सबैभन्दा धेरै विद्यार्थी भएको उनले दाबी गरे । देशमा रहेका ४२२ वटा नमुना विद्यालयमध्ये कालिका सर्वोत्कृष्ट विद्यालयमा पर्दछ । असल अभ्यासहरुलाई अपनाउँदै आएको उनले बताए । देशका विभिन्न विद्यालयका १८ हजार बढी शिक्षकहरु असल अभ्यासका बारेमा अध्ययन गरेको उनले बताए । ३४० जना शिक्षकहरुको निरन्तर मेहनतको प्रतिफलकै कारण अहिलेको अवस्थामा पुगेको उनले बताए । विद्यालयमा ५४ वटा अक्षय कोषहरु छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले विद्यालय परिवारको योगदान र समाजका सबै पक्षबाट पाएको सहयोगकै कारण शिक्षामा उचाई चुम्न पाएको बताए ।

विद्यालयमा २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका समाजसेवी राम बहादुर गुरुङ, मिनकुमारी गुरुङ दम्पतीलाई सम्मान गरिएको विद्यालयका सहायक प्रधानाध्यापक पिताम्बर बन्जाडेले बताए ।

विद्यालयका शिक्षक सुदर्शन रेग्मीले योगिकुटीमा समाजसेवीहरु मिलेर विश्वशान्ति प्रावि स्थापना गरेको बताए । स्वर्गीय मान बहादुर गलामी स्थापनाकालका प्रधानाध्यापक रहेको बताए । वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले सांस्कृतिक नृत्य, गायनहरु प्रस्तुत गरेका थिए । विद्यालयको कालिका मुखपत्रको १३औं अंक विमोचन गरिएको छ ।