
काठमाडौं, २ पुस। नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ ले मध्यपहाडका नागरिकका साना साना समस्या र सम्भावना बुझ्ने मौका मिलेको बताएका छन् ।
मंसिर १४ झुलाघाटबाट सुरु भई पुस १ गते चिवाभन्ज्याङ पुगेर सम्पन्न भएको यात्रा बारे प्रतिक्रिया दिँदै विष्टले मध्यपहाडबाट तराईतिर बसाइँ सर्ने क्रम तीव्र भएको अवस्थामा त्यसलाई रोक्न मध्यपहाडको विकासमा के गर्नुपर्छ भन्ने सिकाइ प्राप्त भएको बताए ।
‘यसको साथै जनताका बिचमा साम्प्रदायिक सद्भाव कायम गर्ने, एकतालाई बलियो बनाउने, जनताका अपेक्षा, गुनासाहरू सुन्ने र आउने दिनमा त्यसलाई सम्बोधन गरेर आमजनताका समस्यालाई समाधान गरी जनतालाई समृद्ध, बनाउने, देशलाई समृद्ध बनाउने काममा अवश्य पनि पटक पटक सरकारको नेतृत्व गरेको जिम्मेवार पार्टीलाई नीति निर्माण गर्न, कार्यक्रम बनाउन आउँदा दिनमा अगाडि बढ्न महत्त्वपूर्ण सहयोग गरेको छ’, उनले भने ।
पार्टी अध्यक्ष लगायत सिङ्गो पार्टी नेतृत्व नै यात्रामा सहभागी भएकोले यसले थप महत्त्व राख्ने उनको भनाइ छ । आगामी दिनमा मध्यपहाडको योजना बनाउन यसले सहयोग पुग्ने उनको विश्वास छ।
चाहे पश्चिममा बस्ने होस् चाहे पूर्वमा बस्ने नेपाली होस् सबै नेपालीको देश प्रति माया भएको र सबै नेपाली बिचको एकतालाई अझ खँदिलो बनाउनु पर्ने अभिव्यक्ति यात्राका क्रममा सबै क्षेत्रका नागरिकबाट आएको उनले बताए । यसले देशका एकतालाई बलियो बनाउन थप मद्दत गरेको उनको भनाइ छ ।















प्रतिक्रिया