
पाँचथर, १ पुस । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमालले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धका लागि संकल्प यात्रा सिङ्गो नेपालकै संकल्प यात्रा बनेको बताएका छन् ।
मङ्सिर १४ गते महाकाली नदीको किनार झुलाघाटबाट सुरु भएको यात्रा आइतबार दिउँसो पाँचथरको चिवाभञ्ज्याङमा समापन गर्ने कार्यक्रममा बोल्दै पोखरेलले यो यात्रा कुनै पार्टी विशेषको यात्रा मात्र नभएको बताएका हुन् । ‘यो यात्रा एमालेको नेतृत्वमा केपी ओलीको अगुवाइमा आयोजना गरिएको भए पनि राष्ट्रको संकल्प यात्रा बन्न पुगेको छ’, उनले भने।
यति बेला जनताले गठबन्धनको विकल्प खोजेको यात्राका क्रममा अनुभूत गरेको पोखरेलको भनाइ छ । ‘यात्राका क्रममा हामीले मुलुकमा राजनीति परिवर्तन प्रति अनास्था र अविश्वास पैदा गर्ने प्रवृत्ति माथि विजय हासिल गरेका छौँ, गठबन्धन सरकारका असफलता र अकर्मण्यताको विरुद्धमा जनताले सही विकल्पको चाहना राखेको हामीले अनुभूत गरेका छौँ’, उनले भने।
यात्राको क्रममा नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओली माथि बाल–बालिकादेखि वृद्ध–वृद्धालेसम्म उच्च सम्मान व्यक्त गरेको उनले बताए। यात्राको क्रममा जनताको माया, सल्लाह र सुझाव ग्रहण गर्ने अवसर मिलेको उनको भनाइ छ । लाखौँ लाख नेपाली जनतासँग प्रत्यक्ष संवाद गर्दै जनाताका अनुभव, समस्या र अपेक्षा बुझ्ने अवसर यात्राले दिएको उनले प्रष्ट पारे । एमाले र केपी ओलीको नेतृत्वमा मुलुकले समृद्धिको यात्रा अघि बढ्छ भन्ने विश्वास यात्राको क्रममा जाहेर भएको उनको भनाइ छ ।
देश र जनतालाई केन्द्र बिन्दुमा राखेर समृद्धिका लागि संकल्प यात्रा आरम्भ गरिएको पोखरेलले बताए । त्यस मानेमा यात्रा पूर्ण रूपमा सफल रहेको उनको धारणा छ । यात्राको माध्यमबाट नेपालाई कमजोर बनाउने प्रवृत्तिका विरुद्ध जनतालाई एकताबद्ध बनाउने उद्देश्य पनि सफल भएको उनले बताए । स्थानीय जनताले आफ्नो संस्कृतिबाट यात्रालाई जीवन्त बनाएको उनको दावी छ ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली यात्रा गरेको हो । बैतडीको झुलाघाट स्थित महाकाली नदी किनारबाट मङ्सिर १४ गते सुरु भएको यात्रा आज पाँचथरको चिवाभञ्ज्याङ पुगेर सम्पन्न भएको हो ।















प्रतिक्रिया