
पाँचथर, १ पुस । आज छैटौँ राष्ट्रिय झण्डा दिवस, नेपालको राष्ट्रिय झण्डा फहराउने दिन ।
संयोग नै मान्नु पर्छ नेकपा (एमाले) ले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको आज अन्तिम दिन । एमालेले मङ्सिर १४ गते पश्चिमको सिमाना महाकाली नदी किनारको झुलाघाटबाट राष्ट्रिय झण्डा फहराएर सुरु गरेको अभियान आज पूर्वको सिमाना पाँचथरको चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर समापन हुँदैछ ।
देशभरि विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय झण्डा दिवस मनाइरहँदा संकल्प यात्रामा निस्किएको एमालेको टोलीका सदस्यहरू भने नेपालको पूर्वी सिमाना चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराउन व्यस्त छन् ।
चिवा भञ्ज्याङमा केहीबारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको छ । यात्राको क्रममा चिवाभञ्ज्याङ पुगेका अभियानका सदस्यहरू अहिले भारतसँगको नेपाली सिमाना चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा बोकेर फोटो खिचिरहेका छन् ।
बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा आज पाँचथरको चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समापन गर्न लागिएको हो । ०७५ पुस १ गतेदेखि नेपालमा राष्ट्रिय झण्डा दिवस मनाउन थालिएको हो । २०१९ पुस १ गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगीकृत गरिएको थियो ।
सोही दिनको सम्झनामा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि दिवस मनाउँदै आएको छ । दिवसका अवसरमा प्रतिष्ठानले विभिन्न कार्यक्रम गर्दै छ ।















प्रतिक्रिया