२ कार्तिक २०८३, सोमबार

कांग्रेस नै यो सरकारसँग आजित भएको छ, सरकार कुहिएर झर्न लागेको छ : केपी ओली

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर, २८ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्पत्रा पहाडको विकास र समृद्धि खोज्ने यात्रा भएको बताएका छन् । यात्राको क्रममा बिहीबार बिहान भोजपुरको पौवादुङमा आयोजित कार्यक्रममा बोल्दै ओलीले पहाडका समस्या र सम्भावना खोज्न एमाले यात्रामा निस्किएको बताए । ‘यो ठाउँको विकासको सम्भावना खोज्न आएका हौँ’, ओलीले भने ।

संकल्प यात्रामा जनसहभागिता देखेर आफूहरूलाई थप उत्साहित बनाएको ओलीले बताए । ओलीले कुनै एक ठाउँको मात्र विकास गरेको देश विकास नहुने प्रष्ट पारे । देश विकासको लागि देशको समग्र भूगोल र क्षेत्रको विकास हुनु पर्नेमा उनले जोड दिए । ‘यो देशको समग्र विकास गर्न सकेनौँ भने देश विकास गर्न सक्दैनौँ’, उनले भने ।

समृद्ध नेपाल निर्माणको खाका नेकपा एमालेसँग मात्र भएको ओलीको दाबी छ । त्यसको लागि नेकपा एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको उनले प्रष्ट पारे । त्यसैले नेकपा एमालेले २०८४ निर्वाचनलाई मिसनकै रूपमा लिएको उनको भनाइ छ । ‘हामीले समृद्ध नेपाल सुखी नेपाली बनाउन मिसन ८४ भनेका हो’, अध्यक्ष ओलीले भने ।

देश अहिले गम्भीर संकटमा रहेको बताउँदै ओलीले देश जोगाउन राष्ट्रिय शक्ति निर्माणको आवश्यकता रहेको बताए । त्यो राष्ट्रिय शक्ति नेकपा एमाले भएको उनको भनाइ छ । ‘यो देशमा राष्ट्रिय शक्ति बलियो बनाउन सकिएन भने देश बरबाद हुन्छ, देश बरबाद भएको हेरेर बस्न सकिँदैन’, ओलीले भने ।

वर्तमान गठबन्धन सरकार अनियमितता, भ्रष्टाचार र नातावादमा चुर्लुम्म डुबेको ओलीको भनाइ छ  । ‘कांग्रेस नै यो सरकारसँग आजित भएको छ, यो सरकार असफल भइसकेको छ, कांग्रेसले नै २०८४ सम्म पर्खन सकिँदैन भनिरहेको छ, यो सरकार कुहिएर झर्न लागेको छ’, उनले भने ।

कार्यक्रममा बोल्दै ओलीले नेपाली जनतालाई निराश नहुन पनि आग्रह गरे । एमाले हुँदा हुँदै जनताले निराश हुनु नपर्ने उनको भनाइ छ । ‘निराश हुन पर्दैन, अगतिलो सरकार बन्यो अब सच्याउनु पर्छ’, ओलीले भने । अहिले देशलाई विकास र सुशासन दिने सरकार चाहिएको उनले बताए । ‘फेरि पनि एमालेले विकास गर्न विश्वास दिलाउँछु’, ओलीले भने ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा छन् । बैतडीको झुलाघाटबाट मंसिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।