९ कार्तिक २०८३, सोमबार

परराष्ट्रमन्त्री साउदले कतारका प्रधानमन्त्रीलाई भेटेर विपिन जोशी रिहाइका लागि गरे आग्रह

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग परराष्ट्रमन्त्री एनपी साउदले शिष्टाचार भेटवार्ता गरेका छन् ।

कतारको राजधानी दोहामा उनीहरुबीच आज शिष्टाचार भेटवार्ता भएको मन्त्री साउदको सचिवालयले जनाएको छ । भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि थप सशक्त पहल गरिदिन विशेष अनुरोध गरेको मन्त्रीका स्वकीय सचिव दीपक जोशीले जानकारी दिए ।

परराष्ट्रमन्त्री साउदले हमाससँग कतारको सम्पर्क, मध्यपूर्वको समस्यामा कतारले निर्वाह गरिरहेको सक्रिय मध्यस्थकर्ताको भूमिका एवम् कतार र नेपालबीचको जनस्तरलगायतको गहिरो र मित्रवत् सम्बन्धका आधारमा यस मानवीय मामिलामा कतार अधिराज्यसँग नेपाल सरकारले उच्च आशा गरेको बताए ।

जवाफमा कतारका प्रधानमन्त्री अल थानीले विपिन जोशीलगायत विदेशी बन्दीहरुको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको बताएका थिए । उनले चाँडै सकारात्मक परिणाम आउनसक्ने सङ्केतसमेत गरे । उनले नेपालसँगको सम्बन्धलाई कतार सरकारले प्राथमिकतामा रहेको पनि स्पष्ट पारे ।

परराष्ट्रमन्त्री साउदले कतारका प्रधानमन्त्री अल थानीसँग व्यापार र लगानीका विषय, कतार फ्रन्ट फर डेभलपमेन्टबाट हुने विकास सहयोग, आगामी उच्चस्तरीय भ्रमण आदि विषयमा समेत कुराकानी गरेका थिए ।