
काठमाडौं, २० मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले देशको अवस्था अत्यन्त नाजुक भएको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा बुधबार रुकुम पुग्नु भएका ओलीले रुकुमकोटमा आयोजित जनतासँग सार्वजनिक भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै देशलाई कसरी सकारात्मक बाटो तर्फ फर्काउने भन्ने कुरा नै अहिलेको चुनौती रहेको बताए ।
‘आज देशको राजनीति अन्योलग्रस्त छ, देशको राजनीति निराशायुक्त छ, देशको राजनीति अस्थिर र अराजक बनेको छ, देशको राजनीति प्रति जनविश्वास अत्यन्तै घटेको छ, त्यसै गरेर अर्थतन्त्र अत्यन्तै अप्ठेरो, असहज र बिग्रिएको अवस्थामा छ र बिग्रँदै छ’, ओलीले भने ।
देशमा बढ्दो भ्रष्टाचार र अपराधीकरणप्रति ओलीले चिन्ता व्यक्त गरे । अपराधीलाई समात्नै नमान्ने र समातिहाले पनि मुद्दा हाल्न नमान्ने, मुद्दा हालिहाले पनि फिर्ता लिने र सजाय मिनाहा गर्ने अपराध सरकारबाट गरिएको ओलीले बताए । यो राज्यको तर्फबाट लज्जास्पद र घिनलाग्दो कुरा भएको उनको भनाइ छ ।
सरकारको कारण लोकतान्त्रिक मूल्य मान्यता धरापमा परेको, राष्ट्रिय स्वाभिमान गिरेको र विकासको काम रोकिएको ओलीले टिप्पणी गरे । सरकारले अहिले छिमेकिसँग ठाडो शिर गरेर कुरा समेत गर्न नसक्ने अवस्था रहेको ओलीको भनाइ छ । झुुकेको देशको शिरलाई फेरी उठाउने गरी काम गर्नुपर्ने ओलीले धारणा राखे । विकासको गतिलाई फेरी अगाडि बढाउनु पर्ने र देशमा सुशासन कायम गर्नुपर्ने रहेको ओलीले बताए । देश निर्माणको लागि देशमै बसेर केही गर्छु भन्ने भावना विकास गर्न नागरिकलाई पनि ओलीले आग्रह गरे ।
घर–खेत सबै बेचेर अमेरिका जान मरिहत्ते गर्ने होइन। त्यही घर खेतलाई जमाएर सुनको टुक्रामा परिणत गर्नुपर्नेमा उनले जोड दिए । अहिले दुनियाँ ठुलो भएकोले उत्पादन गर्ने हो भने जुनसुकै चिजको पनि जताततै बजार भएको उनले स्पष्ट परे ।
कार्यक्रममा एमालेकावरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू लगायतका पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय सदस्यहरू लगायतका नेताहरूका साथै जनसंगठनका नेताहरूको समेत सहभागिता रहेको अभियानमा प्रेस चौतारी नेपालको नेतृत्व गरिरहेका महासचिव हीरामान लामाले जानकारी दिए ।















प्रतिक्रिया