
काठमाडौं, ११ मंसिर । काठमाडौंको बबरमहलमा अत्याधुनिक ट्राफिक लाइट सञ्चालनमा आएको छ ।
सडक पार गर्ने पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको शुभारम्भ गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख पोषराज पोखरेलले बटन थिचेर सडक पार गर्नका लागि राखिएको ट्राफिक लाइट अत्याधुनिक भएको जानकारी दिए ।
उनले पैदलयात्रीले सडक पार गर्नका लागि बटन थिचको केहीबेरपछि रातो बत्ति बलेर सवारी रोकिने र सडक पार गरेपछि आफै हरियो बत्ति बल्न जानकारी दिए ।
त्यस्तै काठमाडौं महानगर प्रहरीका प्रमुख राजुनाथ पाण्डेले पैदल यात्रुलाई बाटो काट्न सहज होस भनेर विभिन्न निकायको सहकार्यमा पेलिकन क्रसिङ राखिएको जानकारी दिए । यसबाट सडक दुर्घटना कम हुने विश्वास महानगरको रहेको उनले बताए । करिव १० लाख रुपैयाँ लागतमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि राखिएको हो ।
यस्तै उपत्यका विभिन्न स्थानमा पेलिकन क्रसिङ राख्ने तयारी भइरहेको महानगरले जनाएको छ ।















प्रतिक्रिया