
काठमाडौं, ८ मंसिर । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘आउटस्ट्यान्डिङ परफर्मान्स इन द लाइफ इन्स्योरेन्स इन्डस्ट्री अफ नेपाल’ अवार्डबाट सम्मानित भएको छ ।
भारतको मुम्बईस्थित होटल ताज ल्यान्ड्स इन्ड्समा आयोजित चौथो आईसीसी इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ तथा अवार्ड, २०२३ समारोहमा कम्पनीलाई अवार्ड प्रदान गरिएको हो ।
कम्पनीद्वारा गरिएको दाबी भुक्तानीको अनुपात, चुक्तापुँजी, प्रथम बिमा शुल्क आर्जन र कम्पनीद्वारा प्रशिक्षणमा गरिएको लगानीजस्ता मापदण्डहरूलाई मूल्यांकन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई यो सम्मान प्रदान गरिएको बताइएको छ। कम्पनीको कार्यकुशलता, प्रभावकारी एवं पारदर्शी नीति तथा योजना, आमजनमानसको विश्वसनीयता र लोकप्रियता तथा चुस्त, सहज र विस्तारित सेवा प्रवाहका आधारमा सर्वश्रेष्ठ रहँदै कार्यसम्पादन गरेकाले कम्पनीलाई ‘आउटस्ट्यान्डिङ परफर्मान्स इन द लाइफ इन्स्योरेन्स इन्डस्ट्री अफ नेपाल’ अवार्ड प्रदान गरिएको हो ।
अन्तर्राष्ट्रिय सम्मान कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले ग्रहण गरेका थिए। चौथो आइसिसी इमर्जिङ एसिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड, २०२३ पीडब्लूसी भारतको सहकार्यमा गरिएको हो। संसारमै लब्ध प्रतिष्ठित परामर्शदाता पीडब्लूसीले एसियामा उदीयमान इन्स्योरेन्स कम्पनीहरूको कार्यसम्पादन गर्ने प्रक्रियालाई समीक्षा गर्दै कम्पनीलाई विभिन्न विधामा सम्मानित गर्दै आएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित हुन पाउनुमा सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु, सम्पूर्ण कर्मचारीवर्ग, अभिकर्तावर्ग, नियामक निकाय, शेयरधनी महानुभावहरु तथा नेपाल लाइफसँग आबद्ध समस्त सेवाग्राहीहरूको ठूलो योगदान रहेको बताए ।
यसले नेपाली समाजलाई बीमाक्षेत्रका बारेमा जागृत गराउँदै बीमा गर्न प्रोत्साहन गराउने कार्यमा नेपाल लाइफलाई अगाडि बढ्न सदैव हौसला मिलेको उनको भनाइ थियो ।















प्रतिक्रिया