२८ कार्तिक २०८३, शनिबार

भूकम्प प्रभावित चिउरीवासीको माग : बस्न गार्‍हो भयो सुरक्षित ठाउँमा सारिदिए हुन्थ्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, ६ मंसिर । गत कात्तिक १७ गते राती नलगाड नगरपालिका-१ चिउरीमा रहेको आफ्नै घरमा मस्त निद्रामा थिइन् कमला विक । निदाएकै बेला राती ११ः४७ बजे उनीमाथि सिंगो घर खस्यो । कमलासँगै सोही घरमा सुतेका छ जनामाथि घरको छानो बजारियो ।  घरको धुरबलो उनीहरुमाथि अड्डियो र उनीहरुको शरीरमा ढुंगामाटो लाग्नबाट जोगायो । उनीहरुलाई सामान्य चोट लाग्नु बाहेक केही भएन ।

भूकम्प रोकिएपछि भत्किएको घरले पुरिएकी कमलाले सानो प्वाल पारेर आफू बाहिर निस्किन् । आफू निस्केपछि अन्य ४ जनालाई पनि त्यसैगरी बाहिर निकाल्न सफन भइन् उनी । तर फुपूको घरमा पाहुना आएका कमलाको ३ वर्षको भतिजोलाई निकाल्न सकिनन् । भतिजोको खुट्टा त्यही धुरबलोले चापिएकोले उनी एक्लैले निकाल्न नसकेको बताउँछिन् । ‘हामी ५ जना बाहिर निस्केपछि भतिजोलाई निकाल्न खोजे’ कमलाले भनिन्, ‘उस्को खुट्टा धुरबलोले च्यापिएकोले एक्लै बलो उठाएर निकाल्न सकिन । चिच्याएपछी गाउँले आएर भतिजोलाई निकाल्न सफल भयौँ ।’

भूकम्पबाट कमलाको परिवारमा कसैको ज्यान त गएन तर न अब बस्ने बास छ न बास बनाउने जमिन नै । भूकम्पले उनको एक वर्ष अघि बनाएको घर पूर्णरुपमा धोस्त भएको छ भने उनीहरुले भोगचलन गर्दै आएको जमिन समेत ठाउँ ठाउँमा चिरा परेको छ । ‘एक वर्ष अघि ऋण सापट गरेर बनाएको घर त ढल्यो नै’ उनी भन्छिन, ‘अब घर बनाउने जग्गा समेत चिरा परेको छ, हामी कहाँ बस्नु ?’

कमलाले चिउरीमा बस्ने अवस्था नरहेकोले बस्ती नै सारिदिए आग्रह गरिन् । भूकम्पले भत्किएका संरचनाहरुको भग्नावशेष हटाउन र पीडितहरुको लागि अस्थायी टहरा निर्माण गर्न चिउरीगाउँ पुगेका नेकपा (एमाले)का स्वयंसेवकहरुसँग उनले यस्तो माग राखेकी हुन् ।

एमाले केन्द्रीय सदस्य एवं विपद् व्यवस्थापन विभागका प्रमुख किरण पौडेल, केन्द्रीय सदस्य निरज आचार्य लगाएतको टोलिसँग चिउरीवासीले बस्ती स्थानान्तरणको माग गरेका हुन् । सो भेटमा स्थानीय लालसरी विकले भनिन, ‘भूकम्पले जमिन फाट्यो, अब यहाँ बस्न नै गार्‍हो भयो । हामीलाई कतै सुरक्षित ठाउँमा सारिदिए हुन्थ्यो ।’

आफ्नो थातथलो छोड्न आफूहरुको रहर नभई बाध्यता रहेको चिउरीवासीको भनाई छ । पीडितहरुलाई सान्त्वना दिँदै विभाग प्रमुख पौडेल नेतृत्वको टोलीले जोखिममा रहेका वस्तीलाई सुरक्षित स्थानमा सार्नका लागि सम्बन्धित निकायहरुसँग समन्वय गर्ने आश्वासन दिएका छन् । अधिकांश दलित बस्ती रहेको चिउरीगाउँ एउटै गाउँमा सबैभन्दा बढी मानवीय क्षती भएको थियो । भूकम्पले त्यहाँ १३ जनाको ज्यान गएको थियो भने प्रायः सबै घरहरु पूर्णरुपमा क्षति भएका छन् ।